राष्ट्रपतिमा कसले मार्ला बाजी,यस्तो छ ८ दल र एमालेबीचको अंकगणित ?

काठमाडौ । राष्ट्रपतिका लागि सत्तारुढ नेकपा माओवादी केन्द्रसहित ८ दल कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा छन। एमालेबाट सुवास नेम्वाङ प्रतिष्पर्धामा छन् । तर, नेम्वाङका पक्षमा मत दिने गरि अहिलेसम्म कुनै पनि दलले औपचारिक निर्णय गरेका छैनन्।

राष्ट्रपतिका लागि मतदान हुन केही दिन मात्रै बाँकी रहँदा दुवै उम्मेदवारको दौड केन्द्रदेखि प्रदेशसम्म नै छ। भोटक्रस हुनेदेखि मत बदर हुने चिन्तामा पिरोलिएका नेताहरुले सांसदहरुलाई भोट हाल्ने तरिका सिकाइरहेका छन्।

यहि फागुन २५ गते राष्ट्रपति पदका लागि मतदान हुँदैछ। प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुका साथै प्रदेस सांसदहरुले राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउने ब्यवस्था छ ।

राष्ट्रपति निर्वाचनका लागि संघीय सांसद र प्रदेश सांसदको छुट्टाछुट्टै मतभार तोकिएको छ। राष्ट्रपति निर्वाचनमा सत्तारुढ दलहरुबीच नै कुरा नमिल्दा समिकरण बदलिएको छ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र नयाँ समिकरण बनाएर अघि बढेकै कारण सत्ता गठबन्धन भत्किएको छ। ८ दलीय नयाँ समिकरणअनुसार राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतभार बढी देखिन्छ। तर, अहिलेसम्म एक्लो उभिएको एमालेले भने आफ्नो उम्मेदवार सुवास नेम्वाङले जित्ने दाबी गर्न छाडेको छैन।

अन्तिम समयसम्म जे पनि हुन सक्ने भन्दै एमाले नेताहरु भोट माग्न सांसदको घरदैलोमा छन् । पौडेल इतर पक्षलाई मात्र होइन, पौडेल पक्षमा उभिएको ८ दलीय गठबन्धनकै भोट पनि आफ्नो पक्षमा पार्न एमाले नेताहरु लागिपरेका छन् ।

एमालेको रणनीतिक चुनावी अभियानले कांग्रेस झस्किएको छ । त्यसैले काठमाडौंका होटलदेखि प्रदेश राजधानी केन्द्रित भेला डाकेर सांसदहरुलाई भोट हाल्ने तरिका सिकाउन थालिएको छ ।

संघीय संसद सदस्यहरुका लागि रातो रंगको मतपत्र तथा प्रदेशसभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र तयार छ ।मतपत्रमा पहिलो नम्बरमा पौडेल र दोस्रोमा नेम्वाङको नामसहित तस्विरसमेत उल्लेख छ ।

फागुन २५ गते विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा हुने मतदानमा मतदातालाई मतदाता परिचय पत्र, नागरिकता वा गत मंसिरमा निर्वाचित भएको प्रमाण पत्र अनिवार्य गरिएको छ।

संघ र प्रदेशको निर्वाचनबाट सांसद जितेर आएकाहरुबाट पनि मत बदर हुने आशंका दलकै नेताहरुमा नै ब्याप्त छ ।सांसदहरुले भोट हाल्न नजानेर बिगार्ने हुन् कि भनेर राजनीतिक दलका शीर्ष नेताहरुले केही दिनदेखि प्रशिक्षण दिइरहेका छन्। प्रदेश सांसदहरुलाई समेत काठमाडौं बोलाएर उनीहरुले भोट हाल्ने तरिका सिकाइरहेका छन् ।

नागरिकलाई सुसूचित गर्ने सांसदहरुले नै भोट हाल्न नजान्ने हुन् कि भन्ने चिन्ता दलहरुलाई छ। जनताबाट निर्वाचित भएर आएका सांसदहरुले नै भोट हाल्न नजान्ने कुरा लाजमर्दो हो।

सांसदहरुले भोट हाल्न नजानेरै बिगार्ने हुन् कि पार्टी निर्देशनविपरित भोट क्रस गर्ने हुन्, त्यो थाहा पाउन भने फागुन २५ गतेसम्म पर्खिनै पर्ने छ।