प्रचण्डलाई मुद्दा लाग्दा उहाँकै पार्टी किन चुप: महासचिव विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध मुद्दा दर्ता गर्दासमेत कोही बोल्न नसकेको भन्दै आलोचना गर्नुभएको छ ।

आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्रीविरुद्ध मुद्दा दर्ता हुँदासमेत प्रधानमन्त्री दाहालकै पार्टीले केही नबोल्नु दुःखको कुरा भएको बताउनुभयो।

उहाँले मुद्दा दर्ता भइसक्दा समेत प्रधानमन्त्री दाहालको पार्टीले कुनै आवाज नउठाएकाले उहाँको पार्टी कता गयो, भन्दै प्रश्न गर्नुभयो ।

उहाँले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको भन्दै माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिनुभयो।

उहाँले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार नरहेको जिकिर गर्नुभयो ।

उहाँले माओवादीलाई अपराधी बनाए इतिहास दोहोर्‍याउने चेतावनी दिनुभयो ।

महासचिव चन्दले माओवादीलाई अपराधी बनाएर व्याख्या गर्नेकुरा सह्य नहुने बताउनुभयो ।