भृकुटीमण्डप जग्गा प्रकरण: कांग्रेस सांसद गुरुङ मतियार,पूर्वमन्त्री न्यौपानेलाई साढे नौ वर्ष कैद सजाय

काठमाडौं। शेष अदालत काठमाडौंले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेलाई कैद सजाय सहित जरिवाना र नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचारमा मतियार ठहर गरेको छ।

भृकुटीमण्डपको जग्गा भाडामा दिँदा २० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहर गरेको विशेष अदालतले बिहीबार कैद तथा जरिवाना निर्धारण गरेको हो। अदालतले पूर्वमन्त्री न्यौपानेलाई साढे नौ वर्ष कैद सजाय र दुई करोड ४३ लाख रुपैयाँ जरिवाना तोकेको छ।

पूर्वमन्त्री समेत रहेका कांग्रेसका सांसद गुरुङलाई भने मतियार ठहर गर्दै एक करोड ४१ लाख ८४ हजार जरिवाना तोकिएको विशेष अदालतका उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले बताए।

समाज कल्याण परिषद्का तत्कालिन उपाध्यक्ष प्रमोद मेहता, सदस्यहरू हरि न्यौपाने, मोहनराज शर्मा, मदनकुमार लाल कर्ण र सदस्य सचिव रवीन्द्र कुमारलाई कैद सजाय र जरिवाना तोकिएको छ।

विशेष अदालतले तत्कालिन कोषाध्यक्ष कुञ्जविहारीप्रसाद चौधरीको भने निधन भइसकेकाले जरिवाना मात्रै निर्धारण गरेको छ।