मन्त्रीमण्डल विस्तारमा किचलो सुरू, काँग्रेसको बोली फेरिँदा जसपा हलचल

काठमााडौं। राष्ट्रपति निर्वाचनपछि सरकार विस्तार गर्ने गठबन्धनको तयारीमा ब्रेक लागेको छ।

प्रधानमन्त्री प्रचण्डसहितका दलहरु उपराष्ट्रपतिको निर्वाचनपछि भागबण्डा र सरकार विस्तारको तयारीमा पुगेपनि गठबन्धनभित्रकै दलमा अविश्वास देखिएपछि झन सकस परेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय सहमतिको भजन गाउन लगाएर राष्ट्रपति प्राप्तिलाई प्रमुख बनाएको काँग्रेसले आफुले चाहेकै भाग पाएको छ।

प्रधानमन्त्रीको दौडमा सधैं असफल रामचन्द्र पौडेलले अन्ततः सबैभन्दा ठूलो पद पाएका छन्।

योसँगै एउटा राजनीतिक कोर्ष पनि पुरा भएको सन्देश प्रधानमन्त्रीले दिएका छन्।

किनकि सरकार विस्तारको झन्झटमा फसेका प्रधानमन्त्री प्रचण्डले यसअघि राष्ट्रपति निर्वाचनलाई देखाएर १६ मन्त्रालयको भार आफै उठाएका थिए ।

तर अझै पनि सरकार विस्तारका लागि केहीसमय लाग्ने संकेत प्रधानमन्त्रीको छ ।

प्रधानमन्त्रीको नयाँ भाका उपराष्ट्रपतिको निर्वाचन लगत्तै सरकार विस्तार गर्नेछ ।

एमाले, रास्वपा र राप्रपा बाहिरिएपछि खाली मन्त्रालयको भागबण्डा गर्ने विषयमा समेत गृहकार्य भइरहेको बताएका छन् ।

तर राष्ट्रपति पाएलगत्तै फेरिएको काँग्रेस बोलीले भागबण्डामा सहज देखिएको छैन।

किनकि पुस १० को बालकोट गठबन्धन भत्किएर फागुन ११ मा नयाँ गठबन्धन बन्दा काँग्रेसलाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिन आठ दलीय सहमति भएको थियो।

जुन सहमति अनुसार नै एमालेको सत्ता बहिर्गमण र काँग्रेसको सत्तारोहणसमेत सुरु भएको हो ।

तर काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले जसपालाई उपराष्ट्रपति दिने सहमति नै नभएको दाबी गरिदिएका छन् ।

काँग्रेस उपसभापतिको यो बोलीसँगै जसपा चिढिएको छ ।

कार्यकारिणी बैठक राखेर रामसहायप्रसाद यादवलाइ उम्मेदवार नै बनाएको जसपाले शीर्ष नेताबीच भएको भद्र सहमति खड्कालाई थाहा नभएको कटाक्ष गरेपनि देउवाका खास पात्रबाट आएको बोली गोली बराबर हो भन्ने हेक्का गरेको छैन।

किनकि उपराष्ट्रपतिमा अहिले आएर माओवादीभित्रैबाट आकांक्षा देखिएको र निर्वाचन आयोगले समेत महिला अघि सार्नुपर्ने विकल्प देखाइदिएपछि सहमतिमा संकट परेको छ।

यता गठबन्धनमा सामेल सबै दलको रोजाइ मुख्य र मालदार मन्त्रालयमात्रै बनेपछि भागबण्डा थप जटिल बनेको छ।

फलतः गठबन्धनभित्रको यही असन्तुष्टि केलाएर एमाले काँग्रेस–जसपासहितका दललाई लोभ देखाउन थालेको छ।

आठ दलीय गठबन्धनमा सबैभन्दा धेरै हिस्सा पाउने दाबी गरिरहेको काँग्रेसले अर्थ र गृहजस्ता मन्त्रालय आफैले राख्नुपर्ने मत राखिरहेको छ ।

माओवादी र नेकपा एकीकृत समाजवादीको दाबी पनि यिनै मन्त्रालयमा छ।

जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीको दाबी पनि मालदार मन्त्रालयमै छ।

झन बालकोट गठबन्धनबाट गृहसहितका महत्वपूर्ण तीन मन्त्रालय पाएको रास्वपा यो गठबन्धनमा पनि सामेल भएर सरकारमा पुग्न खोजेपछि प्रचण्डले गृहकार्य चलाइरहेका छन्।

जसको व्यवस्थापन सजिलै,छिट्टै हुने छाँट देखिएको छैन।

यद्यपी चैत ११ यता नै पुनः विश्वासको मत लिने बाध्यतामा परेका प्रधानमन्त्री प्रचण्डलाई सबैलाई रिझाएर जानुुपर्ने संकट परेको छ।