कांग्रेसबाट मन्त्री हुने यी हुन् प्रमुख दाबेदार,कुन गुटबाट को-को छन् त चर्चामा (नामसहित)

फाइल तस्वीर

काठमाडौं। राष्ट्रपति निर्वाचन सकिएपछि अब ९ दलीय सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसभित्र सरकारमा भागबन्डाको विषयले प्रवेश पाएको छ।

त्यसो त झन्डै दर्जन दल पुग्न लागेको गठबन्धनमा कांग्रेसले पाउने मन्त्रालयहरूको भागबण्डा मिलाउनु पनि चानचुने कुरा होइन।

दलीय भागबन्डा कहिले मिल्छ टुंगो छैन ।

तर, नेपाली कांग्रेसभित्र मन्त्री बन्ने आकांक्षीहरुको दाबी भित्रभित्रै सुरु भइसकेको देख्न थालिएको छ।

मन्त्रालयहरूको दलीय भागबण्डा टुंग्याएपछि पार्टीभित्र मन्त्री बन्ने र बनाइनेको नामबारे छलफल हुन सकेको भए सुल्टो हुन्थ्यो ।

अनुभव र विद्वताका आधारमा दलका नेताहरूले मन्त्रालय रोज्न वा दलका नेताले मन्त्री बनाउने पात्र छान्न सहज हुने थियो ।

तर, मन्त्रालय कुन-कुन आफ्नो भागमा पर्छ भन्ने ठेगान नै नभई कांग्रेसभित्र मन्त्रीहरूको दाबीहरू प्रस्तुत हुन थालेका छन्।

सूची बनाउने काममा नेतृत्व लाग्न थालिसकेको छ ।

कांग्रेसले आफ्ना नेताहरूलाई कसको नेतृत्वमा सरकारमा पठाउने भन्ने विषयमा सकस महसुस गरिरहेको पाइएको छ ।

मंसिर ४ को निर्वाचनपछि देशको पहिलो शक्तिको रूपमा उभिएको कांग्रेसमा पार्टीभित्र गुट र उपगुट मौलाएका कारण पनि सरकारमा सहभागीहरूको सूची तयार गर्न कांग्रेसलाई सकस भएको स्पष्ट देखिन्छ ।

कांग्रेसभित्र शीर्ष नेताहरू नै सरकारमा पार्टीको नेतृत्व गरेर जाने इच्छा देखाइरहेको पाइएको छ ।

कांग्रेस कार्यसम्पादन समितिका एक नेताका अनुसार यो पटक देउवाले शीर्ष नेता तथा नयाँलाई अवसर दिने तयारी गरेका छन् ।

सबै गुट उपगुटलाई मिलाएर जाने तयारी पनि छ ।

ती नेताले भने, ‘यसअगाडि उहाँले राष्ट्रपतिमा पुराना र असल नेतालाई अवसर दिनुभयो ।

अब सरकारमा कांग्रेस सहभागी गराउँदा पनि गुटगत रूपमा मिलाएर लाने तयारीमा हुनुहुन्छ ।

केही नयाँ र केही शीर्ष नेताले अवसर पाउनुहुने छ ।

उनका अनुसार यसपटक कुनै आकस्मिक परिवर्तन नभए उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसले आफ्ना नेताहरूलाई सरकारमा पठाउने तयारी गरेको छ।

उनी सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् ।

नयाँ मन्त्रीहरूको सूचीमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, आरजु राणा देउवा, शशांक कोइराला, बद्री प्रसाद पाण्डे, धनराज गुरुङ, एनपी साउद, डिकमान लिम्बू, राजेन्द्र बजगाईँ, राजन केसी, जीवन परियार, सीता गुरुङ लगायत छन् ।

यी नेताहरूले पाउने मन्त्रालय नटुंगिएको भएपनि उपसभापति खड्का कांग्रेसका तर्फबाट मन्त्रीहरूको नेतृत्व गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री लिने सम्भावना छ ।

उनको नेतृत्वमा देउवाले कांग्रेसलाई सरकारमा पठाउने इच्छा समेत राखेको देउवा निकट एक नेताले बताए ।

यसबारे खड्काले भने, ‘हामीले यसबारे कुनै छलफल गरेको छैन ।

उपराष्ट्रपति निर्वाचनको तयारीमा छौँ । कसको नेतृत्वमा जाने भन्ने विषयमा छलफल भएको नै छैन ।

पहिला ९ दलीय गठबन्धनको भागबन्डा मिलाऊँ अनि आफ्नो पार्टीमा छलफल गरौँ भन्ने छ ।’

नेता प्रकाशमान सिंहले पनि पार्टीका मन्त्रीहरूको नेतृत्व गर्दै सरकारमा जान इच्छा देखाएका छन् तर, पूर्णबहादुरले सरकारको नेतृत्व गरेर सरकारमा गए सिंह मन्त्रिमण्डलमा सामेल नहुने स्रोतको दाबी छ।

सिंह काठमाडौँ १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् ।

सिंहले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा नै जाने इच्छा देखाएका हुन् ।

यद्यपि देउवाले उनलाई ब्याक राखेर पूर्णबहादुरलाई पठाउने योजना गरेको स्रोत बताउँछ ।

स्रोतले भन्यो, ‘पूर्णबहादुर सकारमा नेतृत्व गरेर गएभने प्रकाशमान ज्यू जानु हुन्न । उहाँले आफ्ना लाइनका नेता पठाउनुहुन्छ ।

अर्का नेता डा. शशांक कोइराला पनि उपप्रधानसहित कृषि मन्त्रालय वा परराष्ट्र मन्त्रालय पाए सरकारमा जाने मनस्थितिमा छन् ।

उनलाई पनि देउवाले एउटा मन्त्रालय दिन सक्ने सम्भावना छ ।

कोइरालाले नवलपरासी पूर्व १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनी निकट स्रोतका अनुसार देउवाले यो पटक उनलाई अवसर दिने योजनामा छन् ।

स्रोतले भन्यो, ‘शशांक जी कांग्रेस पार्टीको पुरानो विरासत भएको मान्छे हो ।

सभापति ज्यू र केन्द्रीय कमिटीले उहाँले रोजेका दुई मन्त्रालय मध्ये एक मन्त्रालय दिने तयारी गर्नुभएको छ ।

यता दुई महामन्त्रीमध्ये एक जना नेता पनि सरकारमा सहभागी हुने तयारीमा छन् ।

महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापामध्ये एक सरकारमा सहभागी हुने छन् ।

थापाले अर्थ मन्त्रालय लिन खोजेको चर्चा राजनीतिक वृत्तमा भइरहेको भएपनि थापा आफैँले भने अर्थ मन्त्रालयमा आफ्नो अनुभव र विद्वता नपुग्ने भएकोले आफू त्यसमा नजाने बताएका छन् ।

थापा काठमाडौँ ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

महामन्त्री विश्वप्रकाश शर्माले भने हालसम्म मन्त्री बन्न दाबी प्रस्तुत नगरकोको कांग्रेस नेताको भनाइ छ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विस्तार गर्ने तयारी गरेका छन्।