प्रचण्डलाई विश्वास मत नदिने कुन-कुन दल,यस्तो छ अंकगणित?

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ञप्रचण्डझ आज सोमबार विश्वासको मत लिँदैछन् ।

१० पुसमा मात्र प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड पौने तीन महिनामै दोस्रो पटक संसदमा विश्वासको मत लिन लागेका हुन्।

२६ पुसमा विश्वासको मत लिँदा प्रतिपक्षी कांग्रेस, एकीकृत समाजवादीले पनि मत दिएका थिए।

त्यसकारण उपस्थिति २७० मध्ये २६८ मत उनले पाएका थिए।

विपक्षमा नेमकिपा र राष्ट्रिय जनमोर्चाको दुई मत मात्र थियो।

तर, एमाले र राप्रपा सरकारबाट बाहिरिनुका साथै विश्वासको मत फिर्ता लिएपछि प्रचण्ड आज दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले सोमबार १ बजे विश्वासको मत लिने कार्यसूची रहेको जानकारी गराए।

यसअघि सत्तामा संसद्को दोस्रो ठूलो दल एमाले, चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी, पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी थिए । सत्तारुढ दलहरूको संख्या पाँच थियो।

त्यतिखेर प्रमुख प्रतिपक्ष रहेको कांग्रेस अब सत्तापक्ष बन्दैछ ।

रामचन्द्र पौडेललाई राष्ट्रपतिमा सघाएबापत नै कांग्रेस सरकारमा जान लागेको हो ।

यसअघि प्रतिपक्ष रहेका जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी पनि अब सरकारमा जाँदैछन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मत दिने निश्चित छ।

अब एमाले राप्रपा, नेमकिपा प्रतिपक्षमा मत जाहेर गर्ने भएका छन्।

यसअघि प्रचण्डलाई विश्वासको मत नदिएको एक सांसद भएको जनमोर्चाले सोमबार बिहान मात्रै निर्णय गर्ने छ ।

प्रधानमन्त्रीको पक्षमा कांग्रेस ८७ (राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि रिक्त र टेकबहादुर गुरुङ निलम्बित), माओवादी ३२, रास्वपा १९, जसपा १० (सांसद शहनाज रहमानको निधन भई रिक्त पदमा सिफारिस मञ्जु अन्सारीको शपथ बाँकी र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव नियुक्त भई सांसद पद रिक्त) एकीकृत समाजवादी १०, जनमत ६, नागरिक उन्मुक्ति ४, स्वतन्त्र २ (प्रभु साह र अमरेशकुमार सिंह) गरी १७० सांसदले विश्वासको मत दिने सम्भावना छ।

प्रतिपक्षमा एमाले ७९, राप्रपा १४ र नेमकिपाका १ सांसद गरी ९४ सांसद हुने सम्भावना रहेको छ ।