सत्ता गठबन्धनलाइ मन्त्रालय बाँडफाँटमा सकस: कुन दलको कति मन्त्रालयमा दाबी?

फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिइसकेपछि आजदेखि सरकारलाई पूर्णता दिन गठबन्धन दलहरुबीच छलफलको प्रक्रियामा जुट्ने भएका छन्। प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मत लिइसकेकाले आजबाट दलहरू सरकारलाई पूर्णता दिने विषयमा छलफलमा जुट्न लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डले चार दिनभित्रै सरकारलाई पूर्णता दिने दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा अब चाँडै सरकारलाई पूर्णता दिने बताएका थिए ।

उनले सरकारलाई पूर्णता दिन समर्थन दिएका सबै दलहरूसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने बताएका थिए। जो-जो दलहरूसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ । सबैसँग बसेर २-४ दिनभित्रमै सबै टुङ्ग्याउने र अनि काम गर्ने विचार छ, उनले भनेका थिए।

उनले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आराम ढङ्गले सरकारले काम गर्ने बताएका थिए । नेपाली कांग्रेसले सरकारमा जाने बताइसकेको छ ।

मन्त्रालय बाँडफाँटमा हुनसक्छ सकस

प्रधानमन्त्रीले विश्वासको मत पाइसकेपछि सरकार विस्तारको विषयले प्रवेश पाइरहेका बेला मन्त्रालय बाँडफाँटमा सकस हुने देखिएको छ । नयाँ गठबन्धन बनेपछि सरकार सञ्चालन गर्न र शक्ति बाँडफाँट मिलाउन झन् सकस पर्ने देखिएको हो ।

अहिले १६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् । सरकारमा सहभागी हुने निर्णय गरिसकेको कांग्रेसले कम्तीमा आठ मन्त्रालयमा दाबी गरेको छ।

जसपा, एकीकृत समाजवादी, लोसपा र नागरिक उन्मुक्तिले पनि ‘शक्ति र स्रोत’ भएका मन्त्रालयमा दाबी गरेका छन् । नयाँ गठबन्धनमा मन्त्रालयबारे औपचारिक छलफल नभए पनि कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी र लोसपाले अर्थ, गृह, परराष्ट्र, शिक्षा, भौतिक योजना, ऊर्जा, सहरी विकासलगायत मन्त्रालयमा दाबी पेस गरिसकेका छन् । गठबन्धनमा रहेका दलमध्ये हाल माओवादी र जनमत मात्रै सरकारमा छन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसले ७-८, माओवादीले ४-५, राष्ट्रिय स्वतन्त्र पार्टीले ३-४, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले २-२, नागरिक उन्मुक्ति, जनमत र लोकतान्त्रिक समाजवादी पार्टीले १-१ र स्वतन्त्र रूपमा जितेका सांसद प्रभु साह (आम जनता पार्टी) र अमरेशकुमार सिंहमध्ये एक जनाले मन्त्री पाउने प्रारम्भिक अघि सारेका छन् । कुन मन्त्रालय लिने भन्ने विषय पनि पेचिलो हुने देखिएको छ।

नेताहरूका अनुसार गठबन्धनमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी छ। त्यसबाहेक सरकारमा सामेल हुने दलहरूबीच मन्त्रालय बाँडफाँटको विषय टुङ्गिएको छैन।