मन्त्रिपरिषद विस्तार आज हुँदै,३ बजे शपथ हुने,यी मन्त्रालयमा विवाद कायमै

फाइल तस्वीर

काठमाडौं। आज (शुक्रबार) मन्त्रिपरिषद विस्तार हुने भएको छ। बिहीबार नै मन्त्रिपरिषद विस्तार हुने भनिए पनि केही मन्त्रालयमा धेरै दलको दाबी रहेका कारण विवाद हुँदा आजका लागि सरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार शुक्रबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह तय भएको छ।

मन्त्रालयका सन्दर्भमा दलहरुले माग गरेका र मिलाउन बाँकी विषयहरु आज टुंगो लाग्छ,गजुरेलले भने। नेताहरुका अनुसार अर्थ, गृह, रक्षा र सञ्चार मन्त्रालय कसले लिने भन्ने विवाद छैन। अर्थ र रक्षा कांग्रेसले र गृह र सञ्चार माओवादी केन्द्रले लिनेछन्।

मिल्न बाँकी मन्त्रालयहरुको सन्दर्भमा आफैं मिलाउने भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुलाई मन्त्रीको नाम दिन आग्रह गरेका छन्। त्यसका लागि प्रधानमन्त्री प्रचण्ड सत्ता साझेदार दलहरुसँग सामूहिक र एक्लाएक्लै संवादमा छन्।

विवाद रहेका मन्त्रालयहरुका सन्दर्भमा मन्त्रीको नाम पाएपछि मन्त्रालय तोक्ने प्रधानमन्त्रीको प्रस्ताव छ।  बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सहभागी एक नेताले भने।

सत्ता साझेदार दलहरुका बीचमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने समझदारी भएकाे छ।