प्रशासनले श्री ५ लेखेका ब्यानर हटायो,ज्ञानेन्द्रलाई जनतासँग कुरा गर्न रोक

काठमाडौं । सुनसरीको इनरुवामा पूर्व राजा ज्ञानेन्द्र साहलाई अभिनन्दन कार्यक्रमको पूर्व सन्ध्यामा राखिएका श्री ५ लेखिएका ब्यानरहरू स्थानीय प्रशासनले हटाएको छ भने सुरक्षा व्यवस्था कडा बनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको सादा पोसाकका प्रहरीहरूले पूर्व राजा साहलाई अभिनन्दन गरिने बारे चौक चौकमा टासेको श्री ५ लेखिएका ब्यानरहरू हटाएको हो।

ब्यानर हटाएपछि इनरुवा क्षेत्रमा केही समय तनाव उत्पन्न भएको थियो। इनरुवामा साहलाई राजावादी समूहले नागरिक अभिनन्दन गर्ने कार्यक्रम राखे पनि जिल्ला प्रशासन कार्यालय सुनसरीले भने लिखित अनुमति दिएको छैन।

प्रशासनको अनुमतीमती बिनै पूर्व राजा साहलाई इनरुवामा नागरिक अभिनन्दन गरिने भएपछि आसपासका क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

अभिनन्दन कार्यक्रम शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न प्रशासनले मौखिक अनुरोध जनाएको छ भने साहलाई हिँडेर र जनतासँग दोहोरो कुराकानी गर्न प्रतिबन्ध लगाएको छ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाका अनुसार कार्यक्रमबारे जानकारी भएको तर प्रशासनले लिखित अनुमति भने प्रदान नगरेको बताए।

नागरिकको सुरक्षालाई मध्यनजर गर्दै प्रहरी तैनाथ गरिएको उनले बताए। राजावादी समूहका केही ब्याक्तिहरूले कार्यक्रमबारे अनुमति मागेको तर केन्द्रले नै नदिएको उनको भनाइ छ।

कोसी प्रदेश विरुद्ध पहिचानवादहरूले आन्दोलन चर्काइरहेको बेला पूर्व राजा ज्ञानेन्द्र साहलाई हिँडेर जनतासँग भलाकुसारी गर्न पनि प्रशासनले रोक लगाएको छ।