काठमाडौं महानगरले सुकुम्बासी बस्ती हटाउन खोज्दा प्रतिकार

काठमाडौं। काठमाडौंको गैरीगाउँमा बस्दै आएका सुकुम्बासीलाई हटाउन खोज्दा झडप भएको छ। डोजर लिएर सुकुम्बासी वस्ती हटाउन पुगेको महानगरको टोलीलाई सुकुम्बासीहरूले प्रतिकार गरेका हुन्।

अहिले अवस्था तनावग्रस्त बनेको छ। महानगरको डोजर वस्ती छिर्न सकेको छैन। सुकुम्बासीहरूले टायर बालेर विरोध गरिरहेका छन्। ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

बानेश्वर बहुमुखी क्याम्पस नजिकै बागमती करिडोर सडकमा सुकुम्बासी बस्तीका युवासहितको ठूलो भिड जम्मा भएको छ। सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि खटिएको छ।

महानगर प्रहरीले नदि किनारको अव्यवस्थित बस्ती हटाउन भन्दै सूचना निकालेकामा गत शुक्रबार अदालतले तत्काल नभत्काउन आदेश दिएको थियो।