रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई बुझाए स्पष्टीकरण

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले पार्टीमा स्पष्टीकरण बुझाएका छन्। रास्वपा सांसद श्रेष्ठले आज पार्टीलाई स्पष्टीकरण बुझाएका हुन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको विषयमा सांसद श्रेष्ठले पार्टीमा स्पष्टीकरण बुझाएका हुन्। रास्वपाले पार्टीका सांसद श्रेष्ठलाई हिजो २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो।

रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले हिजो एक विज्ञिप्ति जारी गर्दै समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेका सांसद श्रेष्ठको सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका थिए।

रास्वपाले डा. श्रेष्ठको स्वरमा स्वास्थ्यमन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको छ।

यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारवाही नगर्न नगराउन समेत डा.श्रेष्ठलाई निर्देशन रास्वपाले दिएको छ।