गीत,संगीत र नृत्यको उत्पत्ति नेपालमै भएको हो: अध्यक्ष ओली

फाइल तस्वीर

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गीत, संगीत र नृत्यको उत्पत्ति नेपालबाट भएको बताउनुभएको छ।

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका लागि विश्वका ५२ भन्दा बढी देशबाट छानिएर आएका नेपालीभाषी प्रतिभासँग मंगलबार आफ्नो निवास बालकोटामा अन्तर्क्रियाका क्रममा उहाँले भन्नुभयो, “गीत, संगीत र नृत्यको उत्पत्ति नेपाली भूमिमा भएको हो, गीत, संगीत कला, सम्पदा आदिमा हाम्रो इतिहास सत्ययुगदेखिकै हो।

एमाले अध्यक्ष ओलीले गीत संगीत मात्र नभएर ज्ञान र शिक्षाको उद्गमस्थल पनि नेपाल नै भएको धारणा राख्नुभयो। उहाँले ज्ञान, शिक्षा, सम्पदा तथा वैदिक परम्परामा हामी विश्वमै अरु देशभन्दा अघि रहेका उदाहरण पनि प्रस्तुत गर्नुभयो।

इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा विश्वभरका नेपालीलाई लक्षित गरेर आयोजना गरिएको यो गायन र नृत्यसम्बन्धी प्रतियोगिता अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको हो।

गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही एक करोड, दोस्रो हुनेले ३० लाख र तृतीय हुनेले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।

ओली निवासमा पुगेका नेपाली युवा प्रतिभाले उहाँसमक्ष विभिन्न विषय जिज्ञासा राखेका थिए । उनीहरुले आफूहरु पितृ तथा मातृभूमिमा आउँदा अत्यन्तै खुसी भएको अनुभव पनि सुनाएका थिए।

पहिलो पटक नेपाल आएका कतिपयले सो प्रतियोगिताका कारण आफूहरु नेपाल आउन पाएकामा आयोजकलाई धन्यवाद पनि दिएका थिए।

नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न सो प्रतियोगिताको आयोजना गरेको जनाइएको छ।

त्यस अवसरमा सो फाउण्डेसनका बोर्ड सदस्यद्वय ओमराज गुरुङ र चूडामणि भट्टराईले संसारमा छरिएर रहेका नेपालीलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट पुस्तौँपुस्तासम्म जोड्नका लागि नेपालमै सो प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए।