कोशी प्रदेशको नाम साझा भएको दाबी,विरोध गरे सांसदलाई कारबाही गर्ने माधव नेपालको चेतावनी

फाइल तस्वीर

काठमाडौं । प्रदेश १ नामकरणको सन्दर्भमा ‘कोशी’ नामको विपक्षमा उभिएको पार्टी नेकपा एकीकृत समाजवादीका अध्यक्ष कमाधवकुमार नेपाल पहिचानको विपक्षमा उभिएका छन्।

‘कोशी’ कुनै धर्म र संस्कृतिसँग नजोडिएको र प्राकृतिक सम्पदा भएकाले विरोध गर्नुको औचित्य नभएको भन्दै अध्यक्ष नेपाल पहिचानको विपक्षमा उभिएका हुन्।

उनको पार्टीले प्रदेशको नामकरणका सन्दर्भमा कोशीले पहिचान नसमेट्ने भन्दै प्रदेशको नाम ‘किरात लिम्बुवान सगरमाथा’ हुनुपर्ने प्रस्ताव दर्ता गराएको थियो।

आइतबार विराटनरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले भने– ‘प्रदेश १ को नाम ‘कोशी’मा सहमति भैसकेको रहेछ। तर, हाम्रा साथीहरू आफ्नै ढंगमा चल्ने काम भयो।

कोशी नामाकरण प्राकृतिक सम्पदा भएकाले त्यसमा हाम्रो कुनै आपत्ति थिएन । सहमति नै भइसकेपछि हामीले सम्झाएर मानेर जानुपर्छ । विरोध गर्नुको औचित्य छैन।

अध्यक्ष नेपालले ‘कोशी प्रदेश’ नामाकरणले सबै जातजाति, भाषा धर्म र संस्कृतिलाई समेटेको समेत दाबी गरेका छन्। कोशी नामकरण कुनै धर्म र संस्कृतिसँग जोडिएको छैन’ उनले भने, ‘यो प्राकृतिक सम्पदा भएकाले यसलाई अपनत्व महसुस गरेर अघि बढ्नुपर्छ।

कोशी प्रदेशका सबै जातजाति, भाषा धर्म र संस्कृतिको संरक्षणका साथै कुनै पनि समुदायले उपेक्षित भएको महसुस नहुनेगरी प्रदेश सरकारले काम गर्नुपर्ने समेत उनले उल्लेख गरे।

एकीकृत समाजवादीले प्रदेश १ को नामकरणका लागि छुट्टै नाम प्रस्ताव गरेको थियो। एकीकृत समाजवादीले गत फागुन १३ गते प्रदशसभामा प्रदेश १ को नाम ‘किरात लिम्बुवान सगरमाथा’ प्रस्ताव दर्ता गरेको थियो।

एकीकृत समाजवादी प्रदेश १ का संसदीय दलका नेता राजेन्द्रकुमार राईले दर्ता गरेको प्रस्तावमा जसपाका सांसद निर्मला लिम्बूले समर्थन गरेका थिए । तर, प्रदेशसभाले नेकपा एमालेले दर्ता गरेको ‘कोशी प्रदेश’ नाम बहुमतले पारित गरेको थियो।

प्रदेशसभाले कोशी नाम कायम गरेसँगै ‘कोशी’ खारेजीको माग गर्दै पहिचान पक्षधरले आन्दोलन गरिरहेका बेला एकीकृत समाजवादीका अध्यक्ष नेपाल ‘कोशी प्रदेश’ नामले सबैलाई समेट्ने बताउँदै कोशीको पक्षको उभिएका हुन्।

सांसदलाई कारबाही गर्ने चेतावनी
कोशी प्रदेशको पक्षमा उभिएका अध्यक्ष नेपालले यसअधि नै कोशी प्रदेशसभाका आफ्ना सदस्यहरूलाई कोशी विरूद्धको गतिविधिमा सहभागी भए कारबाही गर्ने चेतावनी दिइसकेका छन्।

स्रोतका अनुसार पूर्व मुख्यमन्त्री तथा हालका प्रदेशसभास दस्य राजेन्द्र राई बाहेकका सदस्यहरूलाई बोलाएर कोशी विरूद्धको गतिविधिमा संलग्न नहुन निर्देशन दिएका हुन्।

स्रोतले भन्यो– ‘अध्यक्ष नेपालले कोशी विरूद्धको गतिविधिमा नलाग्न नहुन निर्देशन दिइसकेका छन्। कोशी विरूद्धको गतिविधिमा सहभागी भए कारबाही गर्नेसम्मको चेतावनी दिइसकेका छन्।

अध्यक्ष नेपालले कोशी विरूद्धको गतिविधिमा सहभागी भए कारबाही गर्ने चेतावनी दिएपछि कोशी विरूद्ध उभिएर हाइहाइ कमाएका एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरू समस्यामा परेका छन्। उनीहरू कोशी विरूद्धको गतिविधिमा सहभागी हुन छोडेका छन्।