सशस्त्र प्रहरीद्वारा २ करोड बढी मूल्यको अवैध सामान बरामद

काठमाडौं। सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा हुने चोरीपैठारी नियन्त्रण गर्ने कार्यलाई तीव्रता दिएको छ। सो क्रममा सशस्त्र प्रहरीले करिब २४ घण्टाको बीचमा साढे २ करोडभन्दा बढी मूल्यको अवैध सामान तथा गाडी बरामद गरेको छ।

सोमबार बिहान १० देखि मंगलबार बिहान ८ बजेसम्म देशभरिको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीका विभिन्न युनिटले २ करोड ५६ लाख ८४ हजार ४ सय २ रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको हो।

जसमा कोशी प्रदेशका इलाम, झापा, मोरङ र सुनसरी जिल्लास्थित युनिटले ४ लाख ८६ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

यसैगरी मधेस प्रदेश अन्तर्गत सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लास्थित युनिटले २४ घण्टाको बीचमा २ करोड ३६ लाख २८ हजार ८ सय १२ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।

त्यसैगरी लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही कपिलवस्तु र बर्दिया जिल्लास्थित युनिटले १० लाख ७६ हजार ५५ रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

यसैगरी सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुरले सोही अवधिमा ४ लाख ९२ हजार ९ सय ३५ रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

बरामद सामानमा भन्सार छली र शंकास्पद कागजपत्र भएका ट्रक हार्डवेयरका सामान लत्ताकपडा कस्मेटिक सामान लगायत रहेका छन्।

बरामद सामान आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय तथा सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।