मिटरब्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ।

सभाको बुधबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले सो अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका गर्नुभएको थियो।

बैठकमा सभामुख देवराज घिमिरेले सो अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त नभएको ब्यहोरा सदस्यलाई जानकारी गराउनुभएको थियो।

यही बैशाख २४ गतेको बैठकमा कानूनमन्त्री गुरुङले सो अध्यादेश प्रतिनिधिसभामा पेस गर्नुभएको थियो। उक्त अध्यादेश यही बैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएको थियो।

सरकारले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको थियो। प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ १ गते अपराह्न १ बजे बस्ने छ।