लहैलहैमा लाग्दा सकियो देशः अब पनि छिमेकीले बाँधेको पट्टी बाँधिराख्ने कि फुकाल्ने सरकार ?

काठमाडाैं। एउटा नबिग्रिकन अर्को सप्रिँदैन्’ भन्ने उखान नेपाली समाजमा निकै प्रख्यात छ। चाहे त्यो व्यक्तिव्यक्तिमा होस् चाहे राष्ट्रराष्ट्रमा। एउटा नसकिकन अर्को माथि जाँदै जाँदैन्।

व्यक्ति सकाउनका लागि उसको घरमा किचिलो बनाइदिन्छन्,राष्ट्र सकाउनका लागि राजनीतिमा। तर, कतिपयले यो कुरा बुझ्दैबुझ्दैनन्। अरुले उचालेको भरमा उचालिने व्यक्ति होस् या राष्ट्र त्यो धेरै बेर टिक्न सक्दैन्। हिजो राजनीति परिवर्तन गर्ने बेलामा नेपालका नेताहरु भारतमा लुकेका थिए।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुले भारतकै योजनाअनुसार राजनीति परिवर्तन गरे । पञ्चायती व्यवस्था फालेर बहुदलीय व्यवस्था ल्याइयो।

नेताहरुले लुकेरै जनता उचालेर सडकमा ल्याए। त्यत्रो शहिद भए। सबै जनता आफ्नो विरोध उत्रिएपछि राजाले समेत घुँडा टेक्नुपर्यो। मुलुकको अनुहार फेरिएला भनेर लागेका जनतालाई अहिले आएर थकथकी लागेको छ। किन कि जनताले सोचेकोभन्दा ठ्याक्कै उल्टो गतितिर नेताहरु लागे।

नेताहरुले आफ्नो सिद्धान्त, विचार सबै छोडेर देश बेचेरै भएपनि कमाउनुपर्छ भन्ने मात्र सोचे। अरुले सेयर दलाल गर्छन्, जग्गा दलाल गर्छन् तर हाम्रा देशका नेताहरु ‘देश दलाल’ गर्छन्।

केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायतका सबै दलालहरुले आज मुलुक तहसनहस बनाए ।

नेपालको जमिन छिमेकीले मिचेका होइनन्, यी दलालहरुले बेचेका हुन् । आफैंले बेचेको जमिन फिर्ता ल्याउन अब यिनीहरुले पहल गर्छन् भनेर नेपाली जनताले नसोचेपनि हुन्छ।

भारत र चीनले सयौं वर्ष अघिदेखि नेपालको जमिन कब्जा गर्दै आएको छ । लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, कीर्तिमान विष्ट, मरिचमान श्रेष्ठ प्रधानमन्त्री हुँदा पनि भारत र चीनले धेरै नेपाली भूमि अधिक्रमण गरेको छ।

यो क्रम अहिले पनि जारी नै छ । उनीहरु दादागिरी देखाउँदै अर्काको जमिन कब्जा गर्ने अनि नेपालका नेताहरु टुलुटुलु रमिते बनेर हेर्ने । भारत र चीनले जति नेपालको जमिन कब्जा गरेको छ, त्यो अहिलेको सदनले फिर्ता ल्याउन सक्दैन्।
किन कि अहिलेको सरकार र सांसद्हरुले भारतको दानापानी खाएका छन् । सरकारमा बस्ने होस् या सांसद् सबै भारतका झोलेहरु हुन् ।

भारतको विरोधमा नेपाली जनताले आवाज उठाए भने यिनीहरु भारतको गुनगान गाउन थालिहाल्छन्। आफ्नो जीऊमा नेपाली पोशाक भिर्दैमा र नेपाली भाषामा बोल्दैमा सच्चा नेपाली होइदैन्। नेपाली हुनका लागि त पहिले नेपाल आमाको संरक्षण गर्न सक्नुपर्छ। नेपाली सेना शान्ति सुरक्षा दिनका लागि विभिन्न मुलुक जान्छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि शान्ति कार्यमा खटिन्छ । तर, यो त नौटंकीजस्तो देखिँदैन् र ? किन कि नेपाली सेनाले आफ्नै देशको जमिनको संरक्षण गर्न सकिरहेको छैन्। सशस्त्र र नेपाली प्रहरीले पनि मुलुकको जमिन बचाउन असमर्थ छ।

अहिले जतिपनि सेनाको ब्यारेक छ त्यो राजधानीको मुटुमा छ । अन्य जिल्लामा पनि सदरमुकाममा ब्यारेक ठड्याइएको छ । प्रहरी र सशस्त्र पनि सेवासुविधाको भोगी भए । जनताले तिरेको करबाट मासिक तलब खाएका छन् तर काम केही गर्दैनन् ।

छिमेकीहरुले रातारात सीमा सारेर नेपाल सिद्धयाइरहेका छन् । तर, सुरक्षा निकायहरु अझैपनि हात बाँधेर बसेको छ । राष्ट्रको सुरक्षा नै गर्न नसक्ने सुरक्षाकर्मीहरु किन चाहियो ? जनताले तिरेको कर बढी भएको छ र, सित्तैमा बिहान बेलुका भात खुवाउन र मासिक तलब दिन।

सुरक्षा निकाय काम नै नगरी तलबभत्ता खाने ठाँउ बन्न पुगेको छ । देशको सदन हेर्यो भने ‘चिडियाखाना’ जस्तै लाग्छ । मुलुकको भूमि जोगाउने, जनताको हकहितमा आवाज उठाउनेभन्दा पनि झगडा गर्नमै सांसद्हरु व्यस्त छन्।

एकअर्कामाथि हिलो छ्याप्नेबाहेक अरु केही गर्दैनन्। यी सांसदलाई नेपालको क्षेत्रफल कति थियो र अहिले कति छ ? भन्ने नै थाहा छैन्। कोही अमेरिकन नागरिक सदनमा पुगेका छन् त कोही अमेरिकी दलाली।

कसैलाई राजतन्त्रको पक्षमा भक्तिगान गाएर फुर्सद छैन्। कोही पार्टीको अध्यक्षको झोले भएको प्रमाण सदनमा दिइरहेका छन्। अनि यस्ता सांसदले मुलुकको अनुहार फेर्छन् ? देशको संरक्षण गर्छन् ? जो आफ्नो खुट्टामा उभिन जान्दैन्, ऊ देशको लागि लड्ने रे।

यस्ताको हातको देशको चाबी सुम्पिनु नै गलत भएको छ । देश जोगाउनका लागि पहिले राष्ट्रप्रति प्रेम हुनुपर्छ । जनताले विरोध नगर्ने र यिनीहरुले मौका पाए भने देश नै अन्य मुलुकलाई बेचेर हिँडिदिन्छन् । मुखमा राष्ट्रियता झुण्डाउँदैमा केही हुनेवाला छैन्।

काम पनि राष्ट्रियता साबित हुने गरी गर्नुपर्यो नि। यस्ता नेता पाएर नेपाली जनतालाई यतिबेला धिक्कार लाग्न थालेको छ । वास्तवमै भन्ने हो भने यिनीहरुसंग बोल्ने शैलीको समेत अभाव छ।

सदन के हो ? र त्यसको काम के हो ? भन्ने नै सांसदहरुलाई थाहा भएन् । कोही बाहिर गाली गर्न नपाएर सदनमा आएकोजस्तो देखिन्छ । कोही आफ्नो पार्टीको अध्यक्षलाई जथाभावी गाली नगर्न भन्दै सदनमा उभिएर बोल्छन्।

झगडा नै गर्ने हो भने सदनमा किन आउनुपर्यो ? जनताले तिरेको कर फोगट्टे खेर मात्र गइरहेको छ। साँच्नै नै भन्ने हो भने यिनीहरु दलालीभन्दा पनि गयगुज्रिएका छन् । वैदेशिक रोजगारीमा पठाउने एजेण्टहरुको इज्जत यी सांसदभन्दा धेरै छ।

सांसदहरुलाई जनताले फुटेको आँखाले पनि हेर्न चाहँदैनन्। देशमा यत्रो आर्थिक मन्दी आएको छ। व्यापार व्यवसाय ठप्प बनेको छ। सर्वसाधारणलाई बिहानबेलुका छाक टार्नसमेत महामुश्किल छ। राजस्व उठ्न छाडिसकेको छ।

विदेशी ऋण बढेको बढ्यै छ। तर, सांसदहरु देखेर पनि अनदेखा गरिरहेका छन्। देश जटिल मोडमा छ भन्ने थाहा हुँदाहुँदै पनि तलबभत्ता लिनु लज्जास्पद विषय हो। जनता भाडमा जाऊन्, हामी त सरकारी गाडी र सेवासुविधा लिन आएका हौ भन्ने रबैया सांसदहरुले देखाइरहेका छन्।

जनताले यस्ता सांसदलाई घृणा गर्नु स्वाभाविकै हो। यिनीहरुले आफ्नो कोटमा सांसदको लोगो लगाएको देख्दा जनतालाई दुःख लाग्छ। छिमेकीहरु हामीलाई सिद्धयाएर कहाँबाट कहाँ पुगिसक्यो तर सांसदहरुले देख्दैनन्।

खेतीयोग्य जमिन खण्डीकरण गरेर घर र बाटो बनाउने सिकाउने को ? यो अहिले होस् या पहिलेका सांसदहरुले बुझेनन् । मुलुकलाई हरेक सामानमा परनिर्भर बनाउने को ? यसतर्फ पनि कसैको ध्यान नै गएन् । हिजो खाद्यान्न निर्यात गर्ने मुलुक आज हरेक सामान आयात गर्छ।

नेपाललाई यो अवस्थामा पुर्याउने भारत र चीन होइन् ? विकास भनेकै घर बनाउनु हो । बाटो बढाउनु र पिच गर्नु हो भनेर नेपालका नेता र दलालीहरुलाई सिकाइयो। उनीहरु पनि केही सोचविचार नै नगरी त्यही बाटो हिँडे।

अरुले जता देखायो त्यतै हिँड्दाको प्रतिफल आज नेपाल र नेपाली जनताले भोगिरहेका छन्। नेपालका नेतासंग त दिमाग नै छैन्। भारतले आफ्नो सामान बेच्न हामीलाई सखाप बनायो भन्ने कुरा राजनीतिक दलका नेताले अझैसम्म पनि बुझेनन्।

बाटो बनाउन चाहने हरेक सामान भारत र चीनले हामीलाई बेच्यो । घर बनाउँदा लाग्ने हरेक ससाना सामानहरुसमेत यी दुई मुलुकबाट खरिद गरियो। घर बन्यो, त्यो घरमा बस्ने मान्छेहरुले खाने खाद्यान्न पनि भारत र चीनले नै बेच्छ।

छिमेकी भन्दाभन्दै देश डुबाइसक्यो भन्ने कुरा जनताले बुझिसके तर नेताहरु बुझ्दैनन् वा बुझ्न चाहँदैनन्। देशमा आर्थिक मन्दी किन छायो ? व्यापार घाटा किन बढ्यो ? देश भोकमरी लाग्ने अवस्थामा कसरी पुग्यो ? यो छर्लङ्ग भइसकेको छ।

देशमा खाद्य संकट देखिसकेको छ। अब घर भत्काएर खेती गर्ने ? सरकारले दिगो सोचाइ राखेन् । जसको नतिजा हामीले अब छिट्टै भोग्ने छौं । देश थप जटिल अवस्थामा जान्छ। सांसद् र सरकारको आँखा कहिले खुल्छ ? उनीहरुको आँखामा छिमेकी देशले पट्टी बाँधेका छन् । त्यो पट्टी खोल्न ढिलो भइसकेको छ ।