प्रचण्डको नेतृत्वमा आउँदै विप्लव,मोर्चामा नजान एकीकृत समावादीलाई एमालेको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा समाजवादी मोर्चा बनाउने अन्तिम कसरत भइरहेको छ। सहमति जुटे सम्भवतः शुक्रबार समाजवादी मोर्चाको घोषणा हुने स्रोतले दाबी गरेको छ।

मोर्चामा दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र,उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी सहभागी हुनेछन्।

यद्यपि मोर्चामा सहभागी नहुन नेकपा एमालेले नेपाल नेतृत्वको एकीकृत समावादीलाई आग्रह गर्दै आएको छ।

केही दिनअघि एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष नेपाललाई भेटेरै मोर्चामा सहभागी नहुन आग्रह गरेका थिए। यद्यपि नेपाल र पोखरेलबीचको भेटलाई दुवै पार्टीका नेताहरूले अस्विकार गरेका छन्।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीसमेत मोर्चामा सहभागी हुने भनिए पनि नटुंगिएको स्रोतको भनाइ छ।

त्यस्तै कम्युनिस्ट एकता अभियानमा जुटेका वामदेव गौतमलाई समेत समाजवादी मोर्चामा सहभागी हुन प्रधानमन्त्री दाहालले आग्रह गरेका थिए।

स्रोतका अनुसार प्रधानमन्त्री दाहालले गौतमलाई भेटेर एमालेमा नजान र समाजवादी मोर्चामा सहभागी हुन आग्रह गरेका थिए। गौतमले भने एमालेमै जाने मनस्थिति बनाएका छन्।

भविष्यमा पार्टीको आकार दिने र कम्युनिस्टहरूबीच एकता अभियान चलाउने उद्देश्यसहित समाजवादी मोर्चा बनाउने राजनीतिक दलहरूबीच सहमति भएको छ।

प्रधानमन्त्री प्रचण्डले बुधबारमात्रै समाजवादी मोर्चा हुँदै नेकपा व्युँताउने घोषणा गरेका थिए। निर्वाचनलगत्तै कम्युनिस्ट पार्टीहरूबीच समाजवादी मोर्चा बनाउने तयारी भएको थियो। तर लामो समयको छलफलपछि चार पार्टीका शीर्ष नेताहरू समाजवादी मोर्चा बनाउन सहमत भएका हुन्। आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट