प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सुनुवाइ समितिमा सवाल जवाफ हुने

फाइल तस्वीर

काठमाडौं। संसदीय सुनुवाई समितिमा शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सवाल जवाफको कार्यक्रम राखिएको छ।

बिहीबारदेखि सुनुवाइमा उपस्थित हुनुभएका कार्कीसँग शुक्रबार समितिका सदस्यहरुले प्रश्नहरु गर्ने छन्। सुनुवाइ बिहान ८ बजेदेखि शुरु हुदैछ । कार्की विरुद्ध समितिमा २९ वटा उजुरी परेका छन्।

बिहीबार पहिलो पटक समितिमा उपस्थित हुनु भएका कामु प्रधानन्यायाधीश कार्कीले अदालतमा हुने भ्रष्टाचारमा शुन्य सहनशीलता कायम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।

२० पेज लामो लिखित प्रतिवद्धता पेश गर्ने क्रममा उहाँले अदालतमा बिचौलियाको प्रभाव निस्तेज गर्न प्रभावकारी कानून बनाउने योजना पेस सुनाउनुभयो।

अदालतमा हुनसक्ने अनियमितता र भ्रष्टाचारजन्य कार्यप्रति शुन्य सहनशीलताको नीति अवलम्वन, अनुगमन तथा सुपरीवेक्षण र निगरानीमुलक संयन्त्रको क्रियाशीलतामार्फत अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधिको नियन्त्रण गर्न पहल गर्ने पनि उहाँको भनाइ थियो।

सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था लागू भएपछि न्याय निरुपण सहज बनेको दाबी गर्दै उहाँले गोलाप्रणालीबाट पेसी तोक्दा विगतको भन्दा ६० प्रतिशतले अनियमितता घटेको बताउनुभयो।

कार्कीले गोला प्रथाबाट पेशी तोक्ने नियमले देशभर राम्रो सन्देश प्रवाह भएको भन्दै खुशी प्रकट गर्दै भन्नुभयो– ‘गोला प्रणालीबाट सर्वोच्च, उच्च र जिल्ला अदालतमा पेसी व्यवस्थापन गर्दा मुद्दाको फछ्र्यौटमा सकारात्मक परिणाम आएको छ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ। कार्कीमाथिको संसदीय सुनुवाई शुक्रबारबाट शुरु भएको हो।

शनिबार बिहान ८ बजे पुनः बैठक बसेर समितिका सदस्यहरुले कार्कीसँग जिज्ञासा राख्ने बताइएको छ।