देउवालाई छैठौंपटक प्रधानमन्त्री बनाउन साइत जुराँउदै आरजु,यस्तो छ प्रचण्ड सरकार ढाल्ने योजना

काठमाडौं । स्वास्थ्य उपचारका नाममा नेपाली काँग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा एक हप्ता सिंगापुर बसेर फर्किएका छन्।

उनको साथमा पत्नी आरजु देउवा पनि गइन्। देउवाले सिंगापुरमा महत्वपूर्ण राजनीतिक तथा व्यवसायिक भेटहरु पनि गरे। उक्त महत्त्वपूर्ण भेटमा देउवाले नेपालको वर्तमान राजनिती र भोलिको पार्टीको कार्यदिशा बारे महत्त्वपूर्ण छलफल गरेको स्राेत बताउँछ।

स्वदेश फर्किएको केही दिनमै आरजु फेरि जापान उडिन्। उनको दौडधूप अर्थपूर्ण छ। आरजुलाई प्रचण्ड नेतृत्वको सरकार कत्ति पनि चित्त बुझेको छैन। त्यसमाथि देउवालाई छैठौंपटक प्रधानमन्त्री बनाउन साइत जुराउन सक्रिय छिन् आरजु।

देउवाका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीको सक्रियता पनि बढेको छ। पार्टीको मध्यस्थता कर्ताको रुपमा चिनिने कार्कीले खुसुक्क एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा भेटेर सम्भावित समिकरण र प्रधानमन्त्रीको भद्र सहमतिबारे कुरा गरेका छन्।

देउवा र ओलीबीच लगभग सहमति बनेपछि एमाले नेता महेश बर्तौलाले सरकारको दिनगन्ती सुरु भएको बताइसके। डा.बाबुराम भट्टराईले पनि सरकार ढल्ने भेउ पाएर संयुक्त सरकारको एजेन्डा उठाएका छन्।

माधव नेपालले त ओलीले देउवालाई अबको चार वर्ष प्रधानमन्त्रीको ललिपप देखाएको खुलासा गरेका छन्। सबैतिरबाट सरकार नटिक्ने आशयको अभिव्यक्ति आइरहँदा बजेटप्रति सत्तारुढ दलका नेताहरुले नै असन्तुष्टि देखाउन थालेका छन्।

बजेट पारित नगर्ने र सरकार ढाल्ने खेलहरु भित्र भित्र चलिरहेका छन्।सरकार ढाल्ने खेल रोक्न प्रचण्डले पनि आक्रामक रणनीति चालेका छन्।

पशुपतिको जलहरी जोख्न अख्तियारको टोली पुगिसकेको छ। जलहरीमा केपी ओली, राधिका शाक्यका अलावा विद्यादेवी भण्डारीको पनि नाम लेखिएको विषय छताछुल्ल भइसकेको छ।

यसले ओली र उनको दललाई ठूलै क्षति पुग्ने गरी खबरहरु बाहिर आइरहेका छन् । ठिक यसै बेला ललिता निवास प्रकरणको फाइल फेरि खुलाइएको छ।

यो प्रकरणमा माधव नेपाल, डा. बाबुराम भट्टराईलगायत नेताहरु पनि मुछिएका छन्। विष्णु पौडेल पनि मुछिएको घटना भएकाले ललिता निवास प्रकरणलाई प्रचण्डले राजनीतिक अस्त्र बनाएका छन्।

भुटानी शरणार्थी प्रकरणले एमालेलाई ठूलै असर पारेको छ। काँग्रेसका नेता बालकृष्ण खाँड पनि बदनाम भएका छन्। उनी कर्मलाई दोष दिएर जेलको हावा खाइरहेका छन्।

खाँडको पक्राउले आरजु देउवा र मञ्जु खाँड पनि पक्राउ पर्ने चर्चा नचलेको होइन। यो प्रकरणबाट प्रचण्डले ठूलै राजनीतिक लाभ लिन सकेको विश्लेषण भएको छ।

प्रचण्डले एकपछि अर्को काण्ड बाहिर ल्याएर सरकार ढाल्न खोज्ने जो कोहीलाई आच्छु आच्छु पारेका छन्।काँग्रेसभित्र प्रचण्डको प्रहारले ठूलै असर परेको विश्लेषण भइरहेको छ ।

यसकारण पनि सरकार ढाल्न देउवामाथि दबाब छ। ओली त झन् ठूलो प्रहार हुने भएकाले देउवालाई मागेको दिएर भएपनि सरकार ढाल्न आतुर छन्। तर, सरकार ढाल्न खोजे प्रचण्डले कठोर कदम चाल्ने भय देउवा र ओली दुवैलाई छ । उनीहरु रक्षात्मक र प्रचण्ड आक्रामक देखिएका छन्।

प्रचण्ड सरकारमाथि खतराको बादल मडारिइरहँदा संसदको अंकगणितको हिसाब भइरहेको छ। संसदमा २७५ सांसदको व्यवस्था छ।

काँग्रेसको ८८, नेकपा एमालेको ७८, माओवादी, नेकपा एस र जसपा सम्मिलित समाजवादी मोर्चाका घटक दलहरुको ५४, रास्वपाको २०, राप्रपाको १३ का अलावा साना दल र स्वतन्त्र सांसदहरु छन्। यो हिसाबले काँग्रेस र एमालेमध्ये कुनै एक दल सरकारको समर्थनमा नरहेसम्म कसैको बहुमत पुग्दैन।

या त काँग्रेस र एमाले मिल्नुपर्छ या काँग्रेसले एमाले बाहेक बाँकी मझौला दलसँग मिल्नुपर्छ या एमालेले काँग्रेस बाहेकका मझौला दलसँग मिल्नुपर्छ। सत्ता समिकरण ६ महिना समेत नटिक्ने र नयाँ बन्ने क्रम चलिरहे देशमा कुनैपनि बेला ठूलै संकट आउनसक्छ।