एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सरकारप्रति असन्तुष्ट

फाइल तस्वीर

काठमाडौं। सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

६५औं संसद दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्।

जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको उनको भनाई छ।

उनले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दवाव दिने काममा लाग्न सांसदहरुलाई आग्रह समेत गरेका छन्।

जनताको प्रतिनिधि भएको नाताले सांसदहरुले उनीहरुको सेवाको काममा केन्द्रित हुन सरकारलाई दबाब दिनुपर्ने उनको भनाई छ।

अध्यक्ष नेपालले जन सेवाको कामलाई सहज बनाउने गरी अघि बढन सरकार र सांसदहरुको सम्बन्ध पनि सुमधुर हुनुपर्ने आवश्यक्ता समेत औंल्याए। अध्यक्ष नेपालले देशको स्वाभिमानको रक्षा गर्ने विषयमा सबै राजनीतिक दलहरू एकतावद्ध भएर अघि बढनुपर्नेमा जोड समेत दिए।