कक्षा ११ मा दिइने छात्रवृत्तिको परीक्षा महानगरले सञ्चालन गर्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुले कक्षा ११ मा उपलब्ध गराउने छात्रवृत्तिको परीक्षा आफैंले सञ्चालन गर्ने भएको छ ।

यसै शैक्षिक सत्रदेखि महानगरले आफैँ परीक्षा सञ्चालन गरेर सामुदायिक विद्यालयमा अध्ययन गरेका, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाती, आदिवासी र गरीबीको आधारमा छात्रवृत्ति उपलब्ध गराउने बताएको हो।

काठमाडौंको मेयर बालेन साहले सामाजिक सञ्जाल मार्फत जानकारी दिदैं यस्तो घोषणा गर्नुभएको हो । उहाँले छात्रवृत्ति मापददण्ड र योग्यताका आधारमा उपलब्ध गराइने पनि बताउनु भएको छ।

शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भएबमोजिम छात्रवृत्तिका लागि परीक्षामार्फत विद्यार्थी छनोट गर्न लागिएको पनि मेयर साहको भनाइ छ।