नृत्य निर्देशक संघ चितवनको आयोजनामा गुरु पूर्णिमाको कार्यक्रम सम्पन्न

प्रेम प्रसाद कडेल

चितवन। नृत्य निर्देशक संघ चितवनको आयोजनामा गुरु पूर्णिमाको अवसरमा अमर श्रष्टा दिवंगत नृत्य गुरुहरुको सम्झनामा दिप प्रज्वलन गरी चितवन डान्स सेन्टर क्षेत्रपुरको हलमा एक कार्यक्रमका बीच मनाइएको छ।

कार्यक्रममा प्रमुख अतिथि वडा नं २ का वडा अध्यक्ष मनोज रानाभाटले गुरु पूर्णिमाको अवसरमा गुरुहरुको स्मरण गर्दै महत्वपूर्ण दिनमा सहभागी हुने अवसर प्राप्त भएकोमा आयोजकलाई धन्यवाद दिदै आफुले यो वडामा कलाकारिताको क्षेत्रमा समेत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नृत्य निर्देशक संघ चितवनका कोषाध्यक्ष समिम तामाङले उपस्थित सबैलाई धन्यवाद दिदै नृत्य गुरुहरुको सम्झनामा यो कार्यक्रम राखिएको र शरीर स्वस्थ राख्न नृत्य आवश्यक रहेको बताए। कार्यक्रमको सहजीकरण नृत्य निर्देशक संघ चितवनका संस्थापक अध्यक्ष जनार्दन ढकालले गरेका थिए।

कार्यक्रममा अतिथिहरु नेपाल राष्ट्रिय कलाकार संघ चितवनका अध्यक्ष लक्ष्मण नेपाल, थारु कलाकार संघ चितवनका अध्यक्ष सुरेश चौधरी, क्रान्तिकारी पत्रकार महासंघ चितवनका अध्यक्ष प्रेम प्रसाद कडेल, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङ लगायतले गुरु पूर्णिमाको शुभकामना व्यक्त गरे।

कार्यक्रममा चितवन डान्स सेन्टरका प्रशिक्षार्थी कलाकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको व्यानर पढेर कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष रानाभाटले उद्घाटन गरेको कार्यक्रममा शहिद एवम् दिवंगत नृत्य गुरुहरुको स्मृतिमा एक ‌मिनेट मौन धारण गरिएको थियो।

कार्यक्रममा उपस्थित सम्पूर्णले नेपालको राष्ट्रिय गान गाउँदै गुरुहरुको स्मरण गरे। कार्यक्रमको नृत्य निर्देशक संघ चितवनको सल्लाहकार मनोज लामाले आफ्नो गुरूहरुप्रति स्मरण गर्दै महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने आयोजक समितिलाई धन्यवाद दिए।

कार्यक्रमका सभापति नृत्य निर्देशक संघ चितवनका अध्यक्ष रेणु तामाङले यो गुरु पूर्णिमाको अवसरमा गुरुहरुको स्मृतिमा दिप प्रज्वलन गर्दै गुरुहरू यो समाजमा सधैं पुजनीय हुने र गुरुहरुको सम्झनामा गुरु पूर्णिमा मनाईंदै आएको तथ्य उजागर गर्दै महत्वपूर्ण कार्यक्रममा सहभागी सबैमा हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्नुका साथै कार्यक्रममा उपस्थित चितवन नृत्य निर्देशक संघका सम्पूर्ण पदाधिकारीहरुलाई कार्यक्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा आयोजक समितिको तर्फबाट विशेष बधाई तथा शुभकामना दिदै आगामी दिनहरुमा समेत मजबुत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।