एमाले सांसदले गरे प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध

फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले)का सांसदले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेका छन्।

भारतीय नागरिक प्रितम सिंहका विषयमा किरणदीप सन्धुले लेखेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले विवादित अभिव्यक्ति दिएका थिए।

सन्धुको पुस्तक रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल विमोचन कार्यक्रम दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै मेहनत गरेको र दिल्ली समेत धाएको अभिव्यक्ति दिएका थिए।

त्यसलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो। एमाले सांसदले विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले संसदीय दलका नेता देवेन्द्र दाहाललाई बोल्न समय दिएका थिए।

राष्ट्रिय सभाको बैठकमा बोल्दै एमाले सांसद दाहालले प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने बताए। प्रधानमन्त्रीको अभिव्यक्तिले लज्जित भएका छौं,सांसद दाहालले भने, हाम्रो दलले यसलाई गम्भीर रूपमा लिएको छ, भारतले बनाएको प्रधानमन्त्री ग्राह्य छैन,स्वीकार्य छैन।

प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्ने एमालेको अडान रहेको उनले बताए। दिल्लीको इशारामा प्रधानमन्त्री बन्नुभएको हो भने स्वीकार्य छैन। तुरुन्तै राजीनामा दिनुपर्छ,उनले भने,प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक अवरुद्ध गर्छौं।

त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले १५ मिनेटका लागि राष्ट्रिय सभाको बैठक स्थगन भएको घोषणा गरेका छन्।