प्रधानमन्त्रीको स्पष्टीकरण होइन,राजीनामा चाहिन्छ :अध्यक्ष केपी ओली

फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्पष्टीकरण नभएर राजीनामा चाहिएको बताएका छन्।

आज दिउँसो अवरोध गरेर स्थगित भएको प्रतिनिधिसभाको बैठकपछि संसद् भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरूले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अशोभनीय रहेको बताए।

‘राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो,उनले भने, ‘हामीलाई जवाफ होइन, राजीनामा चाहियो।

गत सोमबार प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो। उनले प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले गरेको संसद अवरोधलाई अन्य विपक्षी दलहरु रास्वपा र राप्रापाका सांसदहरु पनि साथ दिएका थिए। एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने चेतावनी समेत दिएको छ।

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर शुक्रबारसम्मका लागि स्थगित भएको छ।

आज आधा घण्टाका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक पर्सि शुक्रबार दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित भएको हो।