मिटरब्याज सम्बन्धी कानुन आउन नदिन चलखेल भयो: अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाले मिटरब्याज सम्बन्धी विधेयक तत्काल ल्याउन सरकारलाई आग्रह गरेको छ ।अध्यक्ष चित्रबहादुर केसीले मिटरब्याजसम्बन्धी कानुन आउन नदिन चलखेल भइरहेको आशंका गर्दै दबाबलाई परास्त गरेर उक्त विधेयक ल्याउन सरकारलाई आग्रह गरेका हुन् ।

मिटरब्याजपीडितलाई राहत दिलाउन ल्याउन थालिएको मिटरब्याजसम्बन्धी विधेयक आउन नदिनका लागि भएका चलखेल र दबाबलाई परास्त गर्दै सरकारले उक्त विधेयक ल्याउनुपर्नेमा हामीले जोड दिन चाहन्छौँ,केसीले विज्ञप्तिमा भनेका छन्।

मिटरब्याजीहरूले जनतालाई गम्भीर रूपमा शोषण र आर्थिक दोहन गरिरहेको भन्दै केसीले त्यस्तो शोषण कार्यलाई रोक्न र शोषण र दोहन गर्नेहरूलाई कडा कारवाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।

देशमा मिटरब्याजपीडित जनताको समस्या गम्भीर बन्न गएको छ र त्यो समस्या समाधानका लागि सरकारले उपयुक्त कानुनी व्यवस्थासहित कडा कदम उठाउनुपर्ने आवश्यकता छ’ केसी भनेका छन्।

सरकारले गत वैशाखमा ल्याएको मिटरब्याजसम्बन्धी अध्यादेश गत २० असारदेखि निष्क्रिय भएको छ। सरकारले समयमा नै प्रतिष्थापन विधेयक संसदबाट पारित नगर्दा मिटरब्याजसम्बन्धी अध्यादेशले गरेका व्यवस्था शून्यमा गएको छ।

राष्ट्रिय जनमोर्चाले बाढी पहिरो र डुबानबाट जनधनको क्षति हुनबाट बचाउन आवश्यक सबै कदम उठाउन र बाढीपीडित जनतालाई आवश्यक राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ।