नेपाल र बंगलादेशबीच दोस्रो खेल आज हुँदै

काठमाडौं । नेपाल र बंगलादेशको महिला फुटबल टोलीबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ ।

खेल ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ।

यसअघि भएको पहिलो खेलमा सावित्रा भण्डारीले इन्जुरी टाइममा गोल गरेपछि नेपालले बंगलादेशसँग १-१ को बराबरी खेल्दै हार टारेको थियो।

गत वर्ष काठमाडौं साफ च्याम्पियनसिपको फाइनल पछि नेपाल र बंगलादेश पहिलो पटक खेलेका हुन् । साफमा नेपाल बंगलादेशसँग फाइनलमा ३-१ ले पराजित भएको थियो ।

त्यसको बदला लिने लक्ष्यसहित बंगलादेश पुगेको नेपाल पहिलो खेलमा सफल हुन सकेन । अब दोस्रो खेलमा नेपाल सामु जित निकाल्दै हारको बदला लिने अवसर बाँकी छ ।

‘हामी यहाँ जित्नका लागि आएका हौँ। पहिलो खेल बंगलादेशसँग बराबरी भयो,’ नेपालका मुख्य प्रशिक्षक अनन्तराज थापाले भने, ‘दोस्रो खेलमा हामी अट्याकिङ फुटबल खेल्नेछौँ।

केही दिनदेखि हामी यहाँ छौँ र मौसमसँग अभ्यस्त भइसकेका छौँ । आशा छ दोस्रो खेल राम्रो हुनेछ। हामी हाम्रो राम्रो दिने प्रयास गर्नेछौँ।

बंगलादेशले पछिल्लो समय राम्रो खेलिरहेको र साफ च्याम्पियन टिम भएकोले विपक्षीको सम्मान गर्ने थापाले बताए।