सरकारलाई ३ खर्ब ९७ अर्ब बजेट घाटा

काठमाडौं। सरकारलाई गएको आर्थिक वर्षमा करिब ४ खर्ब रुपैयाँ बजेट घाटा भएको छ।

लक्ष्यअनुसारको राजस्व संकलन र वैदेशिक सहयोग प्राप्त नहुँदा आर्थिक वर्ष २०७९/८० मा ३ खर्ब ९७ अर्ब ८७ करोड १९ लाख रुपैयाँ बजेट घाटा भएको हो।

दुईपटक बजेट संशोधन गर्दा पनि सरकारले लक्ष्य भेट्टाउन असफल भएको छ । गएको आर्थिक वर्षका निम्ति सरकारले १७ खर्ब ८३ अर्ब ७३ करोड ६३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

त्यसलाई सरकारले दोस्रोपटक बजेट संशोधन गर्दै करिब १६ प्रतिशत कम अर्थात् १५ खर्ब ४ अर्ब ९९ करोड बजेट खर्च गर्ने लक्ष्य निर्धारण गरेको थियो।

तर, उक्त लक्ष्यभन्दा ७५ अर्ब ४२ करोड रुपैयाँ कम खर्च लक्ष्य राखेको थियो। आर्थिक वर्षको अन्त्यसम्म विनियोजित बजेटको ७९ दशमलव ६९ प्रतिशत अर्थात् १४ खर्ब २९ अर्ब ५६ करोड ४० लाख रुपैयाँ बजेट खर्च भएको छ ।कम खर्च गर्ने लक्ष्य राख्दा पनि सरकारलाई ठूलो बजेट घाटा भएको छ। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।