भन्सार कटेर सिनामंगल झण्डै १०० किलो सुन कसरी पुग्यो,५ वर्षयता कुन आर्थिक बर्ष कति सुन बरामद भयो त ?

फाइल तस्बिर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको भेटिएको छ ।

राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए।नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा ठूलो परिणामको सुन हुनसक्ने अनुमान गरिएकाे छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो। मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना राजश्व अनुसन्धान विभागसम्म पुगेको थियो। त्यसपछि विभागले गरेको कारबाहीमा ठूलो परिमाणमा सुन बरामद भएको हो।

 भन्सार जाँच पास भएर सिनामंगल पुगेको सुनबारे भन्सार विभाग र विमानस्थल भन्सार कार्यालयले चाहिँ अनविज्ञता प्रकट गरेको छ। विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सारबाट कटेको सुन समातिएकोबारे जानकारी नभएको बताए।

विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेल अहिले विदामा छन्। उनको अनुपस्थितिमा भन्सारको जिम्मेवारी नारद गौतमले सम्हालेका छन्।

५ वर्षयता ह्वात्तै घटेको थियो सुन बरामद दर

पछिल्लो पाँच वर्षयता नेपालमा उल्लेख्य रुपमा सुन बरामद भएको थिएन। साढे ३३ किलो सुन प्रकरणपछि चलाइएको अपरेशनका कारण प्रहरीले सुन तस्करी रोकिएको दाबी गर्दै आएको थियो।

तर, जानकारहरुका अनुसार विभिन्न कारणले प्रहरीको सक्रियतामा पनि कमी आउँदा सुन बरामद हुने क्रममा घटेको थियो।

प्रहरी प्रधान कार्यालय, नक्सालको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ मा २०० किलो सुन बरामद गरेको प्रहरीले त्यसयता आव २०७५/७६ मा ५१, आव २०७६/७७ मा ३०, आव २०७७/७८ मा ३२, आव २०७८/७९ मा २३ र आव २०७९/८० को फागुनसम्ममा ५ किलो गरी ५ वर्षमा जम्मा १४१ किलो सुन बरामद गरेको थियो।

यसरी बरामद गरिएको सुन पनि ठूलो परिणाममा समातिएका होइनन्। विदेशबाट आउने श्रमिकले ल्याएको सुन समातिएका विवरणहरू हुन्।

सूचनाविना सुन समातिँदैन, यसका लागि प्रहरीको लगानी र मिहिनेत उत्तिकै जरूरी हुन्छ,सुन नसमातिनु भनेको तस्करी नै नहुनु भन्ने होइन।