सुन बरामद प्रकरण: एकजना भारतीयसहित ६ जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको अवस्थामा बरामद भएको सुन प्रकरणमा ६ जना पक्राउ परेका छन्। राजश्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित ६ जना छन्।

विभागका अनुसार सुनले भरिएको स्कुटरको ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दिलिप भुजेल, सुन पास गराउन सहयोग गर्ने उनका मामा राम कुमार भुजेल र कम्पनी स्थापना गर्न सघाएका हर्कराज राईलाई विभागले नियन्त्रणमा लिएको हो।

यस्तै थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक पनि पक्राउ परेका छन्। अन्य दुई जना भने भन्सार एजेन्ट र ट्याक्सी चालक छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा ठूलो परिमाणमा सुन बरामद भएको थियो।

बरामद भएको सुनको परिमाण एकिन भइसकेको छैन। विभागले बरामद भएको सुनको जोख्न आज राष्ट्र बैंक लैजाने जनाएको छ।