सुन तस्करीमा दोषी देखिए सजाय भोग्न तयार छु: उपमहासचिव पुन

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको तस्वीरलाई लिएर अहिले आफ्नो नाम मुछेको भन्दै आपत्ती जनाएका छन्।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले सुन तस्करी प्रकरणमा आफू दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको स्पष्ट पारे।

उनले सुन प्रकरणमा आफ्नो सहभागी भएजस्तो गरि प्रचार गरिएको भन्दै राज्यको जुनसुकै निकायले गर्ने छानबिनका लागि आफू तयार रहेको बताए।

उनले भने आठ वर्ष पहिलोका पारिवारिक खालको फोटोलाई राखेर हो, हो जस्तो अहिले सँगै खाएको जस्तो देखाएको छ। जसमा मेरो आपत्ति छ। आम शुभचिन्तकसँग भावनात्मक चोट पुगेको पनि छ।

नेताहरू यसरी बेठीक मान्छेसँग संगत गर्दो रैछन् भन्ने कुरा म माफी चाहन्छु। ममाथि राज्यको कुन निकाले छानबिन गर्नुपर्छ गरोस्, । र, दोषी ठहरिए भने सजय भोग्न तयार छु।

सुन प्रकरण लगायत कुनै पनि प्रकरणमा दोषी देखि माओवादी वा अन्य कोही व्यक्तिलाई छोड्न नहुने उनले बताए। उनले पदाधिकारी बैठकमा पनि आफूले छानबिन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको र प्रधानमन्त्रीले पनि निष्पक्ष ढंगले छानविन गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए।

पुनले संसदीय समिति, न्यायिक समिति वा स्वतन्त्र छानविन समिति बनाउन माओवादी केन्द्र र प्रधानमन्त्री तयार रहेको बताए।

फरक प्रसङ्गमा पुनले माओवादी नेताहरू एकतावद्ध भएर प्रधानमन्त्री र सरकारलाई सहयोग गरिरहेको जिकिर गरे।