शिक्षा र स्वास्थ्यमा देखिएका समस्याको अन्त्य गर्न अब माफिया र दलाललाई कारबाही गर्नुपर्छ: सह-संयोजक न्यौपानेले

काठमाडाैं। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल(क्रान्तिकारी)काे एकता भेला,प्रशिक्षण तथा वैठक सम्पन्न भएकाे छ।धादिङ जिल्लाको सदरमुकाम धादिङ बेसिमा कार्यक्रम सम्पन्न गरिएको थियाे।   

भेलाले १७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको छ। भेलाले जिल्ला सम्मेलन आयोजक समितिको संयोजकमा अशोक आचार्य र सह-संयोजकमा जोन तामाङलाई चयन गरेको छ।

एकता भेलाको प्रमुख अतिथ्यता संगठनका केन्द्रीय सह-संयोजक एवम् बाग्मति प्रदेश इन्चार्ज शिलु न्यौपानेले गर्नु भएकाे थियाे। त्यस्तै अतिथिमा क्रान्तिकारी कम्युनिस्ट पार्टी धादिङ जिल्लाका संयोजक बद्री अधिकारी रहेका थिए।

संगठनकी केन्द्रीय सह-संयोजक एवम् प्रमुख अतिथि शिलु न्यौपानेले विद्यार्थी आन्दोलन अब गतिका साथ अगाडी बढेर शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेका माफिया दलालहरूलाई बढारेर फाल्ने उद्घोष गरेकी छन्।

उनले हुनेखाने र हुँदाखानेहरूका लागि फरक -फरक शिक्षाको अन्त्यका लागि आफुहरू बलिदान समेत गर्न पछि नपर्ने न्याैपानेले बताईन। प्रमुख अतिथि न्यौपानेले धादिङ जिल्ला पार्टी र समग्र जिल्लामा निर्वाचित विद्यार्थी नेता तथा कार्यकर्ताहरूलाइ बधाई ज्ञापन गर्नुभयाे।

पार्टीको तर्फबाट भेलालाई सम्बोधन गर्दै जिल्ला संयोजक बद्री अधिकारीले गणतन्त्र जनताका लागि नआएको भन्दै वैज्ञानिक समाजवाद स्थापना गरेरै छाड्ने बताए।

उनले भ्रष्टाचार गर्ने र जनतालाई ठग्नेहरूका अब दिन गन्ती सुरु भएको बताए। उनले धादिङको तिम्लिङ देखि तोप्लाङसम्मका जनतालाई बिद्रोहमा ल्याउन विद्यार्थीहरूले भुमिका खेल्नुपर्ने बताए।

भेलामा संगठनका बाग्मति प्रदेश संयोजक उषाकिरण आजाद,संगठनका सचिवालय सदस्य एवम् उपत्यका पश्चिम कमाण्डर विकल्प खत्री र पार्टी निलकण्ठ नगर प्रमुख समेत रहेका शक्तिमान अतिथिका रूपमा रहेका थिए।

दुई पार्टी नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) एकता भएपछि जनवर्गिय संगठनमा पनि एकता भेला र वैठक चलिरहेका छन्। एकतालाई आधारभूत तहमा पुर्याउने अभियानमा सो पार्टी र जनवर्गीय संगठनहरू अहिले जिल्ला र प्रदेशमा खटीईरहेका छन्।