कैदी मृत्यु प्रकरण: संखुवासभा कारागारका असईसहित १० प्रहरी नियन्त्रणमा

काठमाडौं। संखुवासभा जिल्ला कारागारमा गत मंगलबार राती दुई कैदीको मृत्यु भएको प्रकरणमा एक प्रहरी सहायक निरीक्षक (असई) सहित दश प्रहरी पक्राउ परेका छन्।

कारागारको सुरक्षामा खटिएका असईसहित दश जनालाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

नियन्त्रणमा लिइएकाहरुमा असई लक्ष्मी चौधरी, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार अमृतबहादुर कार्की, जवानहरू सनोज सोडमी, मुकेश विक, पवनकुमार महतो, नुसन राई, मनिष राई, दमनसिंह राई र सुमन गुरुङ रहेका छन्।

कारागारको झ्याल फोडेर भाग्न खोजेका कैदीलाई समातेपछि उनीहरुले कारागारभित्रै लाठ्ठी र मुक्काले हानेको देखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

बलात्कार मुद्दामा थुनामा रहेका संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र चोरी मुद्दामा थुनामा रहेका नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको गत मंगलबार निधन भएको थियो।