सरकार छाडेको ४ महिनापछि जनमत पार्टी पुनः सरकारमा जाने तयारीमा

फाइल तस्वीर

काठमाडौं । सरकारबाट बाहिरिएको चार महिनापछि डा.सिके राउत नेतृत्वको जनमत पार्टी पुनः सरकारमा सहभागी हुने भएको छ।

कृषि मन्त्रालय र उद्योग मन्त्रालयमध्ये कुनै एक रोजेर गत पुषमा प्रचण्ड सरकारमा सहभागी भएर चैतमा सरकार छाडेको जनमत फेरि सरकारमा सामेल हुन लागेको हो ।

जनमत सरकारमा सामेल हुने भएसँगै पूर्ण रहेको प्रचण्ड सरकार फेरि पुनर्गठन हुने भएको छ। २५ सदस्यीय रहेको मन्त्रिपरिषद्मा कसैलाई हटाएर जनमतकी सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्न लागिएको छ।

स्रोतका अनुसार साहलाई आइतबार मन्त्री बनाइँदैछ। उद्योग र कृषि नपाएपछि सरकार छाडेको जनमतलाई कुन मन्त्रालय दिइने अहिले नै तय भने भइनसकेको भए पनि जनमत पार्टी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा चित्त बुझाएको स्रोत बताउँछ।

मन्त्रिपरिषद् पुनर्गठनका क्रममा उद्योग र कृषिमध्ये एक नदिइएपछि जनमतका तर्फबाट खानेपानी मन्त्री रहेका अब्दुल खानले गत चैत १७ गते राजीनामा दिएका थिए।