जग्गाको कित्ताकाट पूर्णरुपमा खुल्यो

फाइल तस्वीर

काठमाडौं। सरकारले जग्गाको कित्ताकाट पूर्णरुपमा खुल्ला गरेको छ। आज (मंगलबार) बसेको मन्त्रीपरिषद् बैठकले जग्गाको कित्ताकाट पूर्णरुपमा खुल्ला निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए।

गत वैशाखमा मन्त्रिपरिषद्ले भूउपयोग नियमावली संशोधन गर्ने निर्णय गरेपनि कार्यान्वयन हुन सकेको थिएन। भूमि व्यवस्था मन्त्रालयले पुनः अध्ययन गरी लगेको संशोधित नियमावली स्वीकृत गर्ने मंगलबार निर्णय गरेको मन्त्री ज्वालाले जानकारी दिए।

उनले भने,जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ।

जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उनको भनाइ छ। हाल भू उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाइने व्यवस्था रहेको छ।

त्यसैगरी मन्त्रिपरिषद्ले गोरखामा रहेको बहुमूल्य ‘स्टोन’ (क्रिष्टल क्वार्ज) गोरखा दरबारमै राख्ने निर्णय गरेको छ। ‘त्यो स्टोन संरक्षण गर्ने व्यक्तिलाई धन्यवाद दिँदै उसलाई पुरस्कृत गर्ने पनि निर्णय गर्नुका साथै नवनियुक्त सङ्घीय मामिला तथा सङ्घीय मामिलामन्त्रीलाई स्वागत गर्दै बिदा हुनुभएका मन्त्रीलाई धन्यवाद प्रस्ताव पनि पास गरेको छ।