नेपाल टेलिकमका विभिन्न नयाँ अफर सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रयोगकर्ताहरूका लागि पनि विभिन्न नयाँ अफर ल्याएको छ।नेपाल टेलिकमले सीडीएमएका प्रयोगकर्ता घट्दै गएको र फोरजीरएलटीईमा आकर्षित हुँदै गएको भन्दै त्यसैअनुसार कभरेज र सेवा विस्तार गरिरहेको बताएको छ।

यसबीच टेलिकमले सीडीएमए फिक्स्ड फोन अथवा सी फोनका प्रयोगकर्ताहरूलाई फोरजीरएलटीई नेटवर्कमा स्थानान्तरण गर्नका लागि नयाँ प्याकेज ल्याएको हो।

भदौ १ देखि लागु हुने अफरमा टेलिकमले अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियम गरी दुई प्याकेजमा नमस्ते वाईफाई प्रयोग गर्न सक्ने बताएको छ।

अनलिमिटेड बेसिकअन्तर्गत दैनिक रूपमा ५ एमबीपीएस गतिसम्मको १० जीबी डाटा उपलब्ध हुन कम्पनीले जनाएको छ। यो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि पाँचहजार ९९९ रुपैयाँ र वार्षिक अवधिका लागि १० हजार ४९९ रुपैयाँ तोकिएको छ।

यसको अर्धवार्षिक अवधिका लागि शुल्क चारहजार ९९९ रुपैयाँ र वार्षिक अवधिका लागि ९ हजार ४९९ रुपैयाँ शुल्क रहेको छ। यस्तै, अनलिमिटेड प्रिमियमअन्तर्गत दैनिक १० एमबीपीएस गतिसम्मको १५ जीबी डाटा उपलब्ध हुने कम्पनीले जनाएको छ।

यो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि ८ हजार ९९९ रुपैयाँ र वार्षिक अवधिका लागि १६ हजार ४९९ रुपैयाँ रहेको छ। यसको अर्धवार्षिक अवधिका लागि शुल्क ७ हजार ९९९ र वार्षिक अवधिका लागि १५ हजार ४९९ रुपैयाँ रहेको छ।

यी प्याकेज लिने ग्राहकलाई थप रकम नलिई आवश्यक फोरजीरएलटीई सीपीई उपलब्ध हुने कम्पनीले जनाएको छ। नयाँ जडान अन्तर्गत यसरी अर्धवार्षिक अवधिको प्याकेज लिने ग्राहकलाई प्रतिमहिना ४०० मिनेट कम्पनीको नेटवर्क भित्र (अन–नेट) र १०० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) तथा वार्षिक प्याकेज लिने ग्राहकलाई प्रतिमहिना कम्पनीको नेटवर्क भित्र अनलिमिटेड र अन्य नेटवर्कमा १०० मिनेट कल गर्ने सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।