नेपाल टेलिकमले भन्यो यी हुन् नाफामा कमी आउनुका विभिन्न कारणहरु

काठमाडौं। नेपाल टेलिकमले आ.व.२०७९/८० को चौथो त्रैमासिकमा नाफामा कमी हुनुमा विभिन्न कारणहरु भएको दाबी गरेको छ।

कम्पनीले आज प्रकाशित गरेको वित्तिय विबरणअनुसार गत आ.व.को आषाढ मसान्त (२०७९ आषाढ) सम्मको कुल आय रु ४४ अर्व ३७ करोड ४६ लाख ५६ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०८० आषाढ मसान्त) सम्ममा कुल आय रु ४९ करोड ३६ लाख १६ हजार (अर्थात् १.११ प्रतिशत ) ले वृद्धि भई रु. ४४ अर्व ८६ करोड ८२ लाख ७३ हजार रहेको छ।

त्यस्तै गत आ.व. को आषाढ मसान्त (२०७९ आषाढ) सम्ममा कम्पनीको कुल सञ्चालन आय रु ३७ अर्व ९१ करोड ९७ लाख ८९ हजार रहेकोमा चालु आ.व. को सोहि अवधि (२०८० आषाढ मसान्त) सम्ममा रु १ अर्व ११ करोड ५८ लाख ५८ हजार (अर्थात, २.९४ प्रतिशत) ले कमी भई रु ३६ अर्व ८० करोड ३९ लाख ३० हजार रहेको छ।

उता टेलिकमको नामामध्ये गत आ.व. को आषाढ मसान्त (२०७९ आषाढ) सम्मको खुद मुनाफा रु ८ अर्व ४७ करोड ७ लाख ३३ हजार रहेकोमा चालु आ.व. को सोही अवधिसम्ममा (२०८० आषाढ मसान्त) मा रु. ६६ करोड ६२ लाख ७ हजार (अर्थात, ७.८६ प्रतिशत) ले कमि आई रु ७ अर्व ८० करोड ४५ लाख २६ हजार रहेको छ।

यस बाहेक कम्पनीको प्रति शेयर आम्दानी समेत घटेर यस वर्ष रु. ४३.३६ रहेको छ। यसरी नाफामा कमी आउनुमा विभिन्न प्रमुख कारणहरु रहेको जिकिर गरेको छ।

नेपाल टेलिकमकाअनुसार

-Roaming सेवाको बढ्दो प्रयोगको कारण यस वर्षको आयमा गत वर्षको तुलनामा २२ करोड ४६ लाख वृद्धि भएको। गत वर्षको तुलनामा सेवा संचालनसंग प्रत्यक्ष रुपमा सम्बन्धित खर्चहरुमा वृद्धि भएको। बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. १ अर्ब ८५ करोड ७७ लाखले वृद्धि भएको।

-बिदेशी विनिमय दरमा भएको परिवर्तनको कारण रु.२२ करोड २४ लाख Foreign exchange gain भएको।

-Domestic अन्तरआवद्धता शुल्क (Tariff) मा परिमार्जन भएको। कम्पनीद्वारा व्यापक रुपमा देशैभरी फोरजी सेवा विस्तारसँगै डाटाको पहुँचमा वृद्धि भएको र सस्तो दरका डाटा प्याकेजहरु बढ्दै गएको कारण इत्त् सेवाको प्रयोगमा थप वृद्धि भएको कारण अन्तरआवद्धता आयमा करिब रु. ६८ करोड ३७ लाखले कमी भएको।

-मौसमको प्रतिकुल असरले गर्दा बिद्युत आपुर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साईटहरु समयमा संचालन हुन नसकेको।

-आर्थिक ऐन, २०७९ बाट दूरसंचार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा तुलनात्मक रुपमा कमी आएको।

-COVID-19 को कारण बिगत केहि वर्ष देखि संचालन हुन नसकेको क्षमता अभिवृद्धिका कार्यक्रमहरु यस वर्ष संचालन हुनु र गत वर्ष कर्मचारीहरुको तलबमा भएको वृद्धिको कारण यस वर्ष कर्मचारीसंग सम्बन्धित निवृत्तिभरण व्यवस्थामा वृद्धि भएको।

-विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको।

-‘राष्ट्रको सञ्चार’ भएकाले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको।