सार्वजनिक सवारी साधनको भाडा बढ्यो

काठमाडौं। सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो।

तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ। पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको मूल्य ६.८३ प्रतिशतले बढेको हो।

बढेको भाडादर आजैबाट लागु भएको छ। विभागका अनुसार यो भाडा दुई वा सो भन्दा बढी प्रदेश अथवा राष्ट्रिय स्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा मात्र लागु हुने भएको छ।