आज यी चार प्रदेशमा भारी बर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको जनाएको छ।

साथै नेपालमा हाल भारतको उत्त्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव नेपालमा रहेको जनाएको छ।

हाल मौसमको अवस्था देशभर आंशिक देखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी, बागमती, लुम्बिनी, र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा भारी देखी धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

त्यसैगरी सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकोले यि क्षेत्रहरुमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।