राष्ट्रिय वाणिज्य बैङ्कको वालिङ शाखा सञ्चालनमा

काठमाडौं। राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं.८ स्थित शाखा कार्यालय वालिङ सञ्चालनमा ल्याएको छ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले आइतबार विधिवत रूपमा उक्त शाखाको उद्घाटन गरेका हुन्। यससँगै बैङ्कको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ।

सो अवसरमा मन्त्री धनराज गुरूङले सरकारी बैङ्क राष्ट्रिय वाणिज्य बैङ्कले शाखा विस्तार गरेकोमा खुशी लागेको बताउँदै नगरको समग्र विकासमा बैङ्कको महत्त्वपूर्ण भूमिका हुने बताए।

उनले व्यवसायीहरूलाई आफ्नो आर्थिक कारोबार बैङ्कसँग जोडिएर गर्न आग्रह गरे। बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रा.वा. बैङ्कको कर्जाको ब्याजदर तुलनात्मक रूपमा कम भएको र निक्षेपमा आकर्षक ब्याजदर भएकाले व्यवसायीहरूलाई निर्धक्कसँग बैंकिङ्ग कारोबार गर्न आग्रह गरे।

गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक प्रमोद अधिकारीको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँड, वालिङ नगरका विभिन्न वडाका वडा अध्यक्षहरू, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू,समाजसेवीहरू,उद्योगी व्यवसायीहरू,नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरू,बैङ्कका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, बागमती प्रदेशका प्रादेशिक प्रबन्धक ध्रुब अर्याल, शाखा प्रबन्धकहरू,कर्मचारीहरू लगायत सर्वसाधारणहरूको उपस्थिति रहेको थियो। कार्यक्रम प्रबन्धक जितेन्द्रसिंह थापाले सञ्चालन गरेका थिए।

बैङ्कको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्यूआर कोड सेवा, पिओएससेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैङ्किङ,परिष्कृत रूपको मोवाईल बैङ्किङ तथा बिना इन्टरनेट चल्ने युएसएसडि मोवाईल बैङ्किङ्गका सेवाहरू समेत सञ्चालनमा रहेका छन्।