डोल्पामा बेपत्ता भएका मेजर विमल पण्डितको शव फेला,घडी र औँठीबाट पत्ता लाग्यो

काठमाडौं। बेपत्ता भएका डोल्पाको नन्द बक्स ब्यारेकका मेजर विमल पण्डितको शव फेला परेको छ। मंगलबार भेरी नदी अन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका–५ खदांगको चिन्ढेबगरमा उनको शव फेला परेको हो।

स्थानीयले मंगलबार बिहान नदी किनारमा शव फेला पारेका थिए। उनीहरुले खदांगस्थित प्रहरी चौकीमा खबर गरेका थिए।

उक्त प्रहरी चौकीले जिल्ला प्रहरीमा खबर गरेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको कमाण्डमा टोली घटनास्थलमा गएको थियो। साथै सेनाको टोली पनि त्यहाँ पुगेको छ।

ढुंगाको खोचमा रहेको शव निकालेर हेर्दा मुखबाट पहिचान गर्न सकिने अवस्था नरहेको घटना स्थलमा रहेका प्रहरी नायव उपरीक्षक बुढाथोकीले  बताए। यद्यपि घटनास्थलमा पुगेका सेनाका दुई जना मेजरले घडी र औँठीका आधारमा शव पण्डितकै रहेको बताएको उनले बताए।

‘हामीसँग नेपाली सेनाको दुईवटा मेजरसावहरुको टोली आउनुभएको थियो, औँठी र घडीको आधारमा शव मेजर पण्डितकै रहेको यकिन गर्नुभयो,’ उनले भने,‘ पण्डितको अंकलका छोरा पनि घटनास्थलमा पुगेका थिए।

मेजर पण्डिका बुबा पनि डोल्पा पुगेका छन्।

शवलाई जिल्ला अस्पतला ल्याउने तयारी भइरहेको उनले बताए । काठमाडौँको कागेश्वरी डाँछीका ३८ वर्षीय पण्डित १० भदौ अपराह्न ४ बजे त्रिपुराकोटबाट बेपत्ता भएका थिए।रातोपाटीबाट