राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले अमेरिका भ्रमण शुरु गर्नुअघि राष्ट्रपति भवन शीतल निवासमा गएर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो।

भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्युयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आज बेलुका न्युयोर्क प्रस्थान गर्नुहुने भएको छ। प्रधानमन्त्री प्रचण्डले आउँदो असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसअघि आउँदो आसोज २ गते अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने छन्। न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ।

उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्नुहुने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अधिकारी रहेका छन्।  उहाँ अमेरिकाबाटै चीन जाने कार्यक्रम रहेकाे छ।