सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं। नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दामा आज सुनुवाइ हुने भएको छ।

काठमाडौं जिल्ला अदालतमा लामिछाने विरूद्धको मुद्दा आज सुनुवाइ हुने सूचीमा रहेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

यसअघि असोज १ गते सुनुवाइ हुन लागेपनि न्यायाधीश अभावका कारण स्थगित भएको थियो। त्यस दिन२८ न्यायाधीश भएको जिल्ला अदालतमा आज १६ जना न्यायाधीश मात्रै उपस्थित भएपछि ४० मुद्दा स्थगित भएका थिए।

जिल्ला अदालतबाट न्यायाधीशहरू सरूवा भएको र सरूवा भएर काठमाडौं आउने न्यायाधीशहरू नआइसकेकाले १० वटा इजलास आजपनि खाली रहने दाहालले जानकारी दिए।

काठमाडौं जिल्ला अदालतमा पनि गोला थुतेर इजलास तोकिन्छ। यसअघि गोला थुत्ने क्रममा सन्दीपको मुद्दा त्यसदिन उपस्थित कुनैपनि न्यायाधीशको इजलासमा नपरेपछि स्थगित भएको थियो।

सर्वोच्च अदालतले लामिछानेविरूद्धको बलात्कार मुद्दालाई प्राथमिकता दिएर यथाशिघ्र टुंगो लगाउन भनेपनि काठमाडौं अदालतले मुद्दालाई चाँडो टुंगो लगाउनेगरी अघि बढाउन सकेको छैन।

यसअघि भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पुनः पीडितको जन्मदर्ता प्रमाणीत गर्न आदेश दिएकी थिइन्।

त्यस दिन सन्दीपका वकिल सरोज घिमिरेले बसाइ सर्नु अघिको नगरपालिकाको डकुमेन्टमा पीडितको एकिन जन्ममिति नभएकाे भन्दै त्यो कागजात मगाउन माग गरेपछि न्यायाधीश कार्कीको इजलासले बसाइ सरी जानुअघिको पालिकाबाट फेरि पीडितको जन्ममितिको कागजात मगाउने आदेश दिएको थियो।

त्यसअघि पनि अदालतले बसाइ सरी गएको पालिकाबाट जन्ममिति भएको कागजात मागेको थियो। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो।

वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस १८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्तसहित रिहा गरेको थियो।

विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने,पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत सर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए। क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो।

सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ राखेर सुनुवाइ थालेको सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश केही उल्ट्याएर अर्को आदेश दियो।

न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले राष्ट्रिय खेलाडी भएको भन्दै सन्दीपलाई विदेश जाने अनुमति दियो। सर्वोच्चले मुद्दालाई चाँडोभन्दा चाँडो किनारा लगाउनसमेत भनेको थियो।