राष्ट्र र जनताको नाम लिएर भ्रष्टाचार गर्नेविरुद्ध सडक तताउन ढिलो भएन् र ?

सांकेतिक तस्वीर

एउटै आमाको कोखबाट जन्मिएका सन्तान पनि दुई थरीका हुन्छन् । कुनैले आफू बन्छन्, अरुलाई पनि बनाउँछन्। कुनै बिग्रिन्छन्, अरुलाई पनि बिगार्छन् । २०५२ देखि २०६२–६३ सालसम्म नेपालमा बमको आवाज मात्र सुनिन्थ्यो। गोली चल्यो। माओवादीको १० वर्षे जनयुद्धमा परेर १७ हजार नेपालीले ज्यान गुमाए । कति अंगभंग भए । त्यतिबेला जनयुद्धको नेतृत्व गर्ने वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै हुन्।

हिजो हतियार उठाउनुको उद्देश्य के थियो ? १७ हजार नेपालीलाई मार्नुको कारण के थियो ? प्रचण्डले बिर्सिए। प्रचण्डले आफ्नो सिद्धान्त, विचार बिर्सिदा आज मुलुक तहसनहस बनेको छ।

देशको अर्थतन्त्र डामाडोल छ । श्रीलंकाको भन्दा नाजुक अवस्थामा देश पुगिसकेको छ। बस्, सरकारले घोषणा गर्न मात्र बाँकी छ। जनताले लखेट्छन् भनेर राज्य सञ्चालकहरु मुखमा दही जमाएर बसेका छन्।

जनताको हाल बेहाल भइसकेको छ । बेरोजगारी ह्वात्तै बढेको छ । जसका कारण विदेश भाँसिने क्रम बढिरहेको छ। देशमै बसेर केही गरौं भन्नेहरु पनि वाक्कदिक्क बनिसकेका छन् । रोजगारी भएकाहरुले पनि तलब पाउन नसकेको अवस्था छ । मँहगीले सीमा नाघेको छ । हरेक सामानमा मूल्यवृद्धि भएको छ । जसका कारण सर्वसाधारणलाई चुल्हो बाल्न नै समस्या परेको छ।

दशैं आँगनमै छ, सर्वसाधारणलाई बिहान बेलुकाको छाक कसरी टार्ने ? भन्ने चिन्ताले पिरोलेको छ। तर, सरकारमा बस्नेहरुलाई केही मतलब छैन्। कुनै सांसदले जनताको विषयमा मुख खोलेका छैनन्।

सर्वसाधारणलाई गर्जो टार्न समस्या छ, विडम्बना सांसदहरुलाई कुनै फरक परेको छैन्। ‘जनताको आवाज हुँ’ भनेर कराउँदै हिँड्ने रवि लामिछाने प्रचण्डको अगाडि नुन नखाएको कुखुराझैं हुन्छन्।

यता, केपी शर्मा ओली र गगन थापाको पनि उही हाल छ। अन्य सांसद त पहिल्यैदेखि मुखमा दही जमाएर बसेका छन्। देशमा संकटको आँधीबेरी आइसकेको छ। तर, प्रधानमन्त्री प्रचण्डले कुनै ‘एक्सन’ लिन सकेका छैनन्। प्रचण्डले आठ वटा मात्रै निर्णय गरिदिने हो भने देशलाई भइरहेको आर्थिक भार कम हुन्छ । विदेशीको नाङ्गो हस्तक्षेप पनि बन्द हुन्छ।

पहिलोः विदेशसँग लिएको ऋण मिनाहा गर्नका लागि पहल गर्ने। दोस्रोः भूपू राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभामुख, सरकारी कर्मचारी, जनप्रतिनिधिहरुको सेवासुविधा कटौती गर्ने। तेस्रोः पेन्सन र भत्ता दिने सिस्टम हटाइदिने। चौथौंः अहिले भएका कर्मचारीहरुलाई आधा मात्र तलब दिने। पाँचौः तीन महिनाको समय दिएर पाँच सय र हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाइदिने।

छैठौंः भूपू नेता र सरकारी कर्मचारीहरुको सम्पत्ति छानबिन गर्ने। सातौंः उद्योग व्यवसायी, निर्माण व्यवसायी, यातायात व्यवसायी, घरजग्गा व्यवसायी, सेयर व्यवसायी, होटल व्यवसायी, बैंक तथा वित्तिय संस्थाका सञ्चालक, कानुन व्यवसायी, निजी शैक्षिक संस्थाका सञ्चालकलगायत सबैको सम्पत्ति छानबिन गर्ने। व्यवसाय गर्ने नाममा राज्यलाई कर छलेर भ्रष्टाचार गर्नेहरुको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ।

आठौंः छोराछोरी अमेरिका, अष्ट्रेलिया पठाउने अभिभावकको सम्पत्ति पनि खोजतलास गर्ने । एक जना अष्ट्रेलिया पठाउनका लागि तिसौं लाख रुपैयाँ खर्च गर्नुपर्छ।

यो पैसा कहाँबाट आयो त ? सही काम गर्नेभन्दा गलत काम गर्नेहरु बढी हुँदा देश आज यो अवस्थामा पुगेको त प्रष्टै छ। आफू धनी बन्नका लागि भ्रष्टाचार गर्ने, राज्यलाई कर छल्ने, सरकारी, गुठीको जग्गा दर्ता गर्ने, राज्यको सम्पत्ति दोहन गर्ने क्रम जारी नै छ।तर, सरकारले यसलाई रोक्न सकेको छैन्।

सबैतिर माफिया र दलाली मात्रै छन्। अनि देश नसकिने त कुरै भएन्। सरकारी कर्मचारी रातारात धनी बन्न खोज्ने । मुलुकका हरेक सरकारी कार्यालय भ्रष्टाचारको दलदलमा फसेको छ। उपल्लोदेखि तल्लो तहसम्मको कर्मचारीको पारा उही छ । राजश्व उठाउनतर्फ होइन्, भ्रष्टाचार गर्नतर्फ मात्रै कर्मचारीको ध्यान छ।

अर्कोतिर, सबैतिर माफियाकै रजगज चलेको छ। माफियाको अगाडि सरकार लम्पसार परेको छ । ठगहरुको बिगबिगी छ। ठगहरु पाइलैपिच्छे भेटिन्छन्।

व्यापार गर्ने नाममा राज्य र जनता लुट्ने काम भइरहेको छ। सरकार टुलुटुलु रमिता हेरेर बसेको छ। नेपालका उद्योग व्यवसायी भनिएको छ तर, सबै पैसा विदेशमा लगेर लगानी गरेका छन्। मुलुकलाई धरासायी बनाउने त उद्योग व्यवसायी हुन्।

बैंक तथा वित्तिय संस्था माफियाहरुको कब्जामा छ। बैंकबाट ऋण लिने अनि विदेशको बैंकमा लगेर राख्ने । मेडिकल माफिया दुर्गा प्रसाईंले ५५ जना व्यापारीले बैंकको पैसा विदेशमा लगेर राखेको बताउँदै आएका छन्।

सरकारले ती को–को हुन् ? खोताल्नुपर्यो। यो त देशसँग जोडिएको छ । प्रसाईंले बोलेको कुरा त छानबिन हुनुपर्यो । उनले चर्चा कमाउनका यो कुरा बोलेको रहेछन् भने कारबाही गर्नुपर्यो।

सरकारले त्यस्ता व्यापारी खोताल्नुपर्यो, तिनको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्यो । माफियालाई त छोड्ने नै होइन्। किन कि यिनीहरुले देशलाई खोक्रो बनाएका छन्।

नेपाल डुबाएर विदेशमा लगेर पैसा थुपार्ने ‘राष्ट्रघाती’ हरुलाई कानुनको दायरामा ल्याउनुपर्छ। प्रधानमन्त्री प्रचण्ड अब ‘एक्सन’ मा नआउने हो भने जनता सडकमा आउँछन्। किन कि अब अति भइसक्यो।

जनताले कति सहने ? कहिलेसम्म सहने ? बुढापाकाले भन्छन् नि,‘अति भयो भने खति हुन्छ। जनता अहिलेसम्म चुप लागेर बसेका छन्,यस्तै पारा भयो भने नेता भनाउँदाहरुलाई जनताले छोड्दैनन्।

जसरी श्रीलंकाबाट राज्य सञ्चालकहरु भाग्नुपरेको थियो, नेपाली जनताले यिनीहरुलाई लखेट्छन्।प्रचण्डको १० वर्षे जनयुद्ध अहिले खेर गएको छ। आँट भएका व्यक्ति आज सत्ताको प्रलोभनमा परेका छन्।

हिजो आर्मी ब्यारेक उडाउन नडराउने व्यक्ति आज सामान्य निर्णय लिन पनि काप्छन्। देश र जनताका लागि भनेर हतियार उठाएका उनी पत्ता पाउँदामै मख्ख छन्।

जनयुद्ध गर्नुको कारण उनले बिर्सिएका छन्। प्रचण्ड देशको लागि लडेको हो भनेर जनताले साथ दिए। जनता आफू मरे, प्रचण्डलाई बचाए। त्यत्रा जनता शहिद भए। कतिले गोली खाएका छन्। प्रचण्डले उनीहरुलाई फर्किएर पनि हेर्दैनन्।

घाइतेहरुले गोली निकाल्न सकेका छैनन्। उनीहरु ओछ्यानमा थलिएर बसेका छन्। तर, प्रचण्डलाई कुनै फरक परेको छैन्। प्रचण्डले जनयुद्ध किन लडेका रहेछन् ? छर्लङ्ग भएको छ।

करोड मूल्य पर्ने घडी बाँध्नुभन्दा अगाडि सोच्नुपर्दैन् ? प्रचण्डले करोडको घडी बाँध्दा जनयुद्धका घाइतेहरुको मुटु कति पोल्यो होला ? प्रचण्डले छोरीलाई स्वकीय सचिव बनाएका छन्। जसले जनयुद्धमा कुनै योगदान नै गरिनन्, उनी आज देशविदेशको भ्रमणमा छिन्।

बुवा प्रधानमन्त्री भएको फाइदा सन्तानलाई भएको छ । दशौं लाख पर्ने ब्याग बोक्न सक्ने भए । करोड पर्ने घडी किन्नु र दशौं लाख पर्ने ब्याग बोक्नुको साटो जनयुद्धका घाइतेहरुको उपचार गरिदिएको भए हुन्थ्यो नि । जनता पनि पार्टीको कार्यकर्ता मात्र नबनौं। देश खोक्रो बनिसक्यो। अनि अझैपनि पार्टीको झोले बनेर हिँड्ने ? देश टाँट पल्टिसक्यो। २४ खर्ब रुपैयाँ विदेशी ऋण ल्याएर यिनीहरुले खाइसकें।

देश धितो राखेर ल्याएको पैसा खाने त नेता र कर्मचारी हुन्। जनताले के पाएका छन् ? २१ सय रुपैयाँ तिर्न नसक्दा विद्यार्थीले आत्महत्या गर्नुपरेको छ।

खान नपाएर आफू पनि मरेका छन्, छोराछोरीलाई पनि मारेका छन् । तर, राज्य सञ्चालकहरुलाई कुनै फरक परेको छैन्। जनता मरिदिँदा यिनीहरुलाई झनै फाइदा भएको छ। जनता मर्ने होइन्, यिनीहरुलाई लखेट्ने हो । राष्ट्र र जनताको नाममा लिएर भ्रष्टाचार गर्नेहरुको विरोधमा सडक तताउन ढिलो भइसकेको छ।