विश्वकप छनोट फुटबल: नेपाल र लाओस भिड्दै,जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौं। विश्वकप छनोट फुटबलको प्रारम्भिक चरणको दोस्रो लेग खेलमा नेपालले मंगलबार लाओसको सामना गर्दैछ। दोस्रो लेग खेल लाओसको घरेलु मैदानमा खेलिने छ। खेल नेपाली समय अनुसार, साँझ ५ः४५ बेज सुरु हुनेछ।

पहिलो लेग खेल नेपालको घरेलु रंगशालामा खेलिएको थियो। असोज २५ गते दशरथ रंगशालामा खेलिएको उक्त खेल १—१ गोलको बराबरीमा सकिएको थियो। त्यसैले मंगलबार खेलिने दोस्रो लेग खेलमा दुबै टोली जित्नै पर्ने दबाबमा हुनेछन्।

दोस्रो लेगमा विजयी हुने टोलीले दोस्रो चरणको छनोट प्रतियोगितामा स्थान बनाउने छ। निर्धारित समयमा हार—जितको टुंगो लाग्न नसके खेल अतिरिक्त समयमा जानेछ । त्यसपछि पनि विजेता टोलीको टुंगा नलागे पेनाल्टी सुटआउटबाट हार—जितको निर्णय निकालिने छ।

 नेपाली टोलीका अनुभवी खेलाडी अञ्जन बिष्टका लागि पनि मंगलबारको खेल निकै महत्वपूणर् छ। उक्त खेलमा गोल गर्न सफल भएमा उनी नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने कीर्तिमानी खेलाडी बन्नेछन्।

दशरथ रंगशालामा खेलिएको पहिलो लेग खेलमा पनि अञ्जनकै जवाफी गोलका कारण नेपाली टोली सम्भावित पराजयबाट जोगिएको थियो। त्यो गोलसँगै उनले देशका लागि सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमानसँग बराबरी गरेका थिए।

हाल नेपालका लागि अञ्जन बिष्ट, हरि खड्का र निराजन राजमाझीले १३—१३ गोल गरेका छन्। लाओसविरुद्ध मंगलबार हुने खेलमा गोल गर्न सफल भए भने अञ्जन देशका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बन्नेछन्।