राजा र राजनीतिक दलहरुको रणनीतिः मिलीजुली खाऔं, देश सकाऔं

राजनीतिक दलका नेताहरु राजतन्त्र हटाएकोमा ठूलो गर्व गर्छन्। राजा ज्ञानेन्द्रलाई श्रीपेच खोल्न लगाएर नागार्जुनको जंगलमा राखेको भन्दै उनीहरुले भाषण गर्दै आएका छन्।

राजाले दरबार त छाडे, श्रीपेच पनि खोले । तर, राजाको हरेक खर्च सरकारले व्यहोर्दै आएको छ। उनले खाएको, लाएको, सुरक्षा व्यवस्थालगायत हरेक सेवासुविधा सरकारले दिने गरेको छ । उपचार खर्च, तलबभत्ता, चाडबाड पेश्की सबै लिइरहेका छन्, राजाले ।

जनताले तिरेको करबाट सरकारले तलबभत्ता र सेवासुविधा दिइरहेको छ, राजाले पनि खुरुखुरु लिइरहेका छन्। राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सरकारी कर्मचारीको तलबभत्ता बढ्नेबित्तिकै राजाको पनि तलबभत्ता बढ्छ।

जनताको बीचमा बसेर राजनीतिक दलहरुले राजालाई सर्वसाधारण बनाएको भन्दै भाषण ठोक्छन्। उनीहरु भन्छन्,‘राजालाई गद्दीबाट हटाएर हामीले सर्वसाधारणसरह बनाएको छौं।

कतिपयलाई राजाले अहिलेपनि सरकारी सेवासुविधा लिइरहेका छन् भन्ने थाहा छैन्। नेताहरु यतिसम्म ‘फट्याहा’ छन् कि के भन्ने ? राजा हटाएको नौटंकी देखाएर आफू पनि खाइरहेका छन्, उनलाई पनि खुवाइरहेका छन्।

जनताले अहिले पनि राजालाई पालिरहेका छन्। जनताले खुट्टामा एक जोर चप्पल नलगाई तिरेको करमा राजाले मोजमस्ती गरिरहेका छन्।

काम नगर्ने, बसिबसि खाने, कति आनन्द ? राजाको खर्च अझैपनि व्यहोर्नुपरेको छ, अनि देशबाट के राजा हटे, भन्नु ? राजा सर्वसाधारणको लिष्टमा पर्छन् भने उनलाई किन सुरक्षाकर्मी दिनुपर्यो ?

सुरक्षाकर्मी जनताले तिरेको करबाट पालिएका छन्। राजाले सरकारबाट वर्षेनि अर्बौं रुपैयाँ लिँदै आएका छन्। खान, बस्न, उपचार खर्च, सरकारी गाडी, भान्से, सुरक्षाकर्मी गरेर अर्बौं रुपैयाँ खर्च गरिँदै आएको छ।

राजा साँच्नै नै आम नागरिक हुन् भने सरकारले दिँदै आएको सबै सेवासुविधा कटौती गर्नुपर्यो। सर्वसाधारणलाई नेपाल सरकार र राजनीतिक दलले भुङ्ग्रोमा राखेका छन्।

जनतालाई ढाँट्ने र आँखामा छारो हाल्ने कार्य मात्र भइरहेको छ। २०६५ जेठ १५ गतेभन्दा अगाडि उनले राज्यबाट जुनजुन सेवासुविधा लिन्थें, त्यो सबै अहिलेपनि लिइरहेका छन्। दरबार छोडिदिए, गद्दी त्यागे, श्रीपेच निकाले तर अझैपनि राजा बनेरै बसेका छन्।

विसं २०४७ सालको संविधान खारेज भइसकेको छ। विसं २०७२ सालमा नयाँ संविधान बनेको छ। तर, नयाँ संविधानले पनि राजाको सेवासुविधा खोस्न सकेन्। देशमा गणतन्त्र आयो तर त्यसले राजालाई कुनै फरक परेको छैन्।

अहिलेसम्म उनले खर्बौं रुपैयाँ बढी सेवासुविधाको नाममा लिइसकेका छन्। राजाले खायो, देश सकायो भनेर राजनीतिक दलहरुले आन्दोलन गरे।

नेपाली जनताको दुर्भाग्यः अहिले राजालाई पनि पाल्नुपरेको छ, राजनीतिक दलका नेतालाई पनि। सबैले आ–आफ्नो धोक्रो भर्नका लागि आन्दोलन गरेको त पुष्टि भइसकेको छ।

व्यवस्था परिवर्तन भएपनि त्यसले सोचेअनुरुप नतिजा दिन नसक्दा सर्वसाधारणले आलोचना गर्न थालिसकेका छन्। व्यवस्थामाथि प्रश्न उठाउन थालिएको छ। जसको फाइदा राप्रपालाई हुँदै आएको छ।

कमल थापा, राजेन्द्र लिङ्देनलगायतले फेरिपनि राजतन्त्रको भक्तिगान गाउन थालिसकेका छन्। २०५२ फागुन १ गते माओवादीले हतियार उठायो। १० वर्षे जनयुद्ध शुरु भयो।

सो क्रममा हजारौं नेपाली शहिद भए। जनयुद्धका घाइतेहरु आज पनि उपचार नपाएर छट्पटाइरहेका छन्। विसं २०६२–६३ सालमा १९ दिन आन्दोलन भयो। आन्दोलन राजतन्त्र हटाउन र व्यवस्था परिवर्तनका लागि भएको थियो।

जनयुद्धको नेतृत्व गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन पटक देशको प्रधानमन्त्री भए। वर्तमान प्रधानमन्त्री पनि प्रचण्ड नै हुन्। तर, उनले राजाको सेवासुविधा कटौती गर्न सकेका छैनन्।

अनि कहाँ हट्यो राजतन्त्र ? कहाँ हटे राजा ? वास्तविक कुरा के हो भने यिनीहरु सबैले मिलीजुली खाने षड्यन्त्र रचेका हुन्। राजा हटेको हो भने उनलाई किन सुरक्षाकर्मी दिएको ?

किन तलब दिएको ? किन सरकारी गाडी दिएको ? राजा नागरिक हो भने सर्वसाधारणझैं काम गर्नुपर्यो। जागिर खान जानुपर्यो। सर्वसाधारणझैं व्यवहार उनलाई पनि गरिनुपर्यो।

सर्वसाधारणलाई झुक्याउने कार्य राजनीतिक दलहरुले गर्दै आएका छन्। राजा राजै भएर बसेका छन् अनि नेताहरुले हामीले राजा हटायौं भन्न सुहाउँछ ? राजाको निवासमा दर्जनौं सरकारी गाडी छ।

सयौं सुरक्षाकर्मी खटाइएको छ । मासिक तलबभत्ता दिइएको छ। राजाले खर्बौं रुपैयाँ तलबभत्ताको नाममा बुझिसकेका छन्। सरकारले राजाको सम्पूर्ण सम्पत्ति ट्रष्टमा ल्याउनुपर्ने हो, त्योपनि गर्न सकेको छैन्।

जब सरकारले राजाको सबै सेवासुविधा कटौती गर्छ, उनको सबै सम्पत्ति ट्रष्टको नाममा लैजान्छ तब मात्रै जनताले देशबाट राजा हटेछन् भनेर पत्याउँछन्। 

राजा ६८ वर्ष कटिसकेका छन्। सरकारले ६८ वर्ष कटेका ज्येष्ठ नागरिकलाई भत्ता दिने गरेको छ। राजा पनि आफ्नो नागरिकता र ज्येष्ठ नागरिक कार्ड बोकेर भत्ता बुझ्न जानुपर्यो। अनि मात्रै जनताले राजा हटेको प्रत्याभूति गर्न पाउँछन्।

अहिले त घरघरमा सेवासुविधा पुगेको छ। राजा कतै हिँडे भने सयौं सुरक्षाकर्मी अगाडिपछाडि दौडाएको हुन्छ। मुलुकको सीमा छिमेकीले मिचेको मिच्यै छन्, सुरक्षाकर्मी जति यसरी यस्ताकै पछाडि खटाउँदै ठिक्क भएको छ।

आजसम्म कसैले राजा ज्येष्ठ नागरिक भत्ता लिन पुगेको देखेका छन् ? हरेक नागरिक तीन–तीन महिनामा भत्ता लिन पुग्छन्। राजा त जाँदैनन्।

बरु, सुरक्षाकर्मीको फौज लिएर मन्दिर दर्शन गर्न पुग्छन्। २०६५ सालपछि धेरै प्रधानमन्त्री भए। प्रचण्ड, माधवकुमार नेपाल, शेरबहादुर देउवा, झलनाथ खनाल, बाबुराम भट्टराई, केपी शर्मा ओली, खिलराज रेग्मी प्रधानमन्त्री भए।

तर, कुनैपनि प्रधानमन्त्रीसँग राजाको सेवासुविधा खोस्न सक्ने आँट भएन्। न तिनले सरकारी गाडी र सुरक्षाकर्मी फिर्ता बोलाउन सके। बाबुराम भट्टराईले आफू प्रधानमन्त्री हुँदा भनेका थिए,‘दर्शन गर्ने नाममा मन्दिर गएर जनता भड्काउने हो भने राजाले पाएको सेवासुविधा सबै कटौती गरिदिन्छु।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३२ दिन गृहमन्त्री भए।

गृहमन्त्री हुँदा आफुले हाकिमका घरमा भएको सुरक्षाकर्मी हटाए भनेर उनले ठूल्ठूला भाषण गरे । त्यसो त राजाको निवासमा भएको सुरक्षाकर्मी किन नहटाएको ? फाइफूर्ती लगाउने पनि हद हुन्छ।

देशको सुरक्षामा खटिनुपर्ने सयौं सुरक्षाकर्मीलाई फोगट्टे एउटै व्यक्तिको अघिपछि लगाइएको छ । अब राजनीतिक दलहरुले राजा हटायौं भनेर घमण्ड नगर्दा पनि हुन्छ।

राजा हटाएकै हो भने किन सेवासुविधा दिइरहेको ? किन तलबभत्ता र सुरक्षाकर्मी दिएको ? यसको जवाफ राजनीतिक दलहरुसँग छ ? जनतालाई ढाँटेर आफ्नो स्वार्थ पूरा गर्न यिनीहरुलाई लाज लाग्नुपर्ने हो।

राजाको गुनगान गाउँदै हिँड्ने कमल थापा र राजेन्द्र लिङ्देन आफैं मन्त्री भए। गणतन्त्र र नयाँ संविधानअनुरुप उनीहरु चुनाव लड्छन् । २०७२ सालको संविधानमा राजतन्त्र राख्ने, राजालाई ठाउँ दिने भनेर कहीँ–कतै उल्लेख गरिएको छैन्।

राप्रपा २०७४ र २०७९ सालको चुनावमा सहभागी भएको थियो। यी चुनाव नयाँ संविधानको आधारमा गरिएको थियो। सदनमा उभिएर राजतन्त्र

चाहिन्छ, हिन्दूराज्य फर्काउनुपर्छ भनेर राजेन्द्र लिङ्देनले बोल्दै आएका छन्। उनले आफु कहाँ उभिएको छु ? भन्ने कुरा नै बिर्सिएका छन्। उनले नयाँ संविधान मान्छौं भनेर जनतासँग भोट मागेका थिए।

अनि राजाको पक्षमा गुनगान गाउन लाज लाग्दैन् ? राप्रपाले जनताको मतको अपमान गरेको छ। राजा चाहियो भन्ने अनि सरकारमा पनि जाने। जनताले तिरेको करबाट तलबभत्ता खाने, सेवासुविधा लिने, सरकारी गाडी चढ्ने कार्य भइरहेको छ।

यिनीहरु सबैको नौटंकी बुझ्नुपर्ने बेला भएको छ। देशको अर्थतन्त्र डामाडोल हुनुमा राजनीतिक दलहरुको हात छ भनेर राजावादीहरु चिच्याउँदै आएका छन्।

राजाले लिएको खर्बौं रुपैयाँचाँहि कसले हिसाब गर्ने ? राजाले त अहिले पनि राज्यको ढुकुटी दोहन गरिरहेका छन्। राज्यसँग साँच्नै नै नैतिकता छ भने २०६५ सालपछि लिएको सबै रकम, सेवासुविधा फिर्ता गर्नुपर्छ।

नेता र राजामा केही फरक छैन्। सबै खान मात्रै आएका हुन् भन्ने जनताले बुझ्नुपर्छ। देश सकाउनमा यिनीहरु सबैको बराबरको हिस्सेदारी छ।