विश्व मञ्चमा नेपालको कमजोर र निरीह कूटनीति

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदका लागि भएको चुनावमा नेपालले लज्जास्पद हार बेहोरेको छ।

भारतको नयाँ दिल्लीमा बुधबार अपराह्न भएको चुनावमा नेपालका तर्फबाट उम्मेदवार रहेका शम्भुप्रसाद आचार्यले खसेको १० मतमा २ मात्र पाए।

उनका प्रतिस्पर्धी बंगलादेशका उम्मेदवार प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेद ८ मत प्राप्त गरी विजयी भइन्।

गोप्य मतदानमा यस क्षेत्रका स्वास्थ्यमन्त्रीहरूले भाग लिएका थिए। डब्लुएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका,थाइल्यान्ड र टिमोर लिस्टे सदस्य छन्। मतदानमा सैनिक शासन भएको देश म्यान्मारबाहेक १० सदस्य राष्ट्र सहभागी भए।

प्रतिस्पर्धात्मक क्षमता राखेका आचार्यको हारले क्षेत्रीय स्तरमा नेपालको कूटनीतिक क्षमता अत्यन्त कमजोर र निरीह देखिएको छ।

यो मत परिणामले यस क्षेत्रमा कूटनीतिक हिसाबले नेपाल अत्यन्त कमजोर र निरीह देखिएको छ,’ डब्लुएचओ क्षेत्रीय कार्यालयमा कार्यरत एक नेपाली अधिकारीले भने।

नेपालले यसअघि आफ्नो पक्षमा रहेका भारत र थाइल्याण्ड जस्ता सहयोगी देश पनि गुमाएको ती अधिकारीले बताए।

एसिया क्षेत्रीय निर्देशक पदका लागि आचार्यको अनुभव र दक्षताअगाडि बाजेद कमजोर थिइन् तर बंगलादेशको बलियो कूटनीतिक लबिङका कारण उनले सफलता हात पारिन्।

अटिजम रोगको उपचारका लागि पैरबी गर्दै आएकी बाजेद डब्लुएचओको मानसिक स्वास्थ्य विषयको सल्लाहकार समूहकी सदस्य थिइन्।

उनले फेब्रुअरी १ तारिखदेखि ५ वर्षे कार्यभार सम्हाल्नेछिन् । यो समाचार नागरिक दैनिकमा छ।