काठमाडौंमा उच्च सुरक्षा सतर्कता

काठमाडौं । एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ। निषेधित क्षेत्र र कार्यक्रमस्थल आसपासमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन्।

तिनकुने क्षेत्रमा तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरु परिचालित भएका छन्। मध्यपुरथिमिस्थित दुर्गा प्रसाईंको निवास वरपर पनि सुरक्षाकर्मीहरु तैनाथ छन्।

तिनकुने क्षेत्रमा एमाले नेता महेश बस्नेत सहितका कार्यकर्ताहरु भेला हुने क्रम जारी छ। उनीहरुमध्ये अधिकांशले रातो क्याप लगाएका छन्।

प्रदर्शनमा घुसपैठ हुन सक्ने र अप्रिय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै काठमाडौं उपत्यकामा ड्रोनबाटसमेत निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।

युवा संघले तिनकुनेमा र प्रसाईं समूहले बल्खु क्षेत्रमा केन्द्रित भएर प्रदर्शन गर्दैछन्। दुवैको कार्यक्रमस्थलमा सुरक्षाकर्मी तैनाथ भएका छन्।

अत्यावश्यक कामबाहेक सवारीसाधन लिएर ननिस्कन प्रहरीले सूचना जारी गरेपछि काठमाडौं उपत्यकाका सडकमा सवारी साधनको चाप कम देखिएको छ।