गोविन्द केसीलाई समर्थन गरे कारबाही गर्ने स्वास्थ्यमन्त्री बस्नेतको चेतावनी

फाइल तस्वीर

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा सुधारका अभियन्ता गोविन्द केसीलाई गलत गिरोहले सञ्चालन गरिरहेको आरोप लगाएका छन्।

शनिबार राष्ट्रिय ट्रमा सेन्टरमा आयोजित कार्यक्रममा उनले केसीले गलत माग लिएर अनसन बस्ने गरेको आरोप लगाए। उनले केसीले अनसन बसेपछि चिकित्सकहरुले समर्थन गर्ने गरेकामा पनि आपत्ति जनाए।

म अनसन बसिदिन्छु भन्नुहुन्छ एक जनाले। उहाँ बस्नुभएपछि तपाई (डाक्टरहरु) फेरि सेतो कोट लगाएर उहाँको बचाउमा हिँडिहाल्नु हुन्छ। किन हिँडेको भनेर मैले सोधे,साथीहरुले काम चाहिँ गल्ती थियो,तर हामी हिँड्नैप-यो। अनि किन हिँड्या भनेको ज्यान जोगाइदिन,मान्छे मर्न लाग्यो भनेर। त्यस्तो पनि कुरा हुन्छ ?मन्त्री बस्नेतले भने।

उनले अगाडि भने, ‘यो देशका लागि अहित छ, नेपाली जनताको लागि अहित छ। अब हामीले यो काम गर्नु हुँदैन। तपाई आफू ठिक मान्छे हो।

तर तपाईलाई सञ्चालन गर्ने गिरोहहरु गलत छ भनेर भन्न किन नसक्ने? अब भन्नुपर्छ तपाईहरुले। होइन यो अभियान अगाडि बढ्दा तपाईहरु ओल्टेकोल्टे हुन थाल्यो भने तपाईंहरुलाई पनि कारबाही हुन्छ।

मन्त्री बस्नेतले चिकित्सा शिक्षामा हालको नीति नियम परिवर्तन नगरे ५ वर्षपछि देशमा डाक्टर र नर्स फेला पार्न मुश्किल हुने बताए। उनले नेपालमा चिकित्सक र नर्स धेरै उत्पादन गरेर विदेश पठाउन सकेमा रेमिट्यान्स पनि धेरै आउने दाबी गरे।

‘अहिले हामीले कोरा व्यक्तिहरुलाई विदेश पठाइरहेका छौं। सारा बर्बाद गरेका छौं। कोरा व्यक्तिलाई विदेश पठाएर। यसैकारण ठगिएका छन्। बदनाम भएका छन्। आम्दानी राम्रो हुँदैन। तर योग्य, दक्ष मानिसहरु जाँदाखेरि त्यसको सम्मान अर्कै हुन्छ। राष्ट्रलाई रेमिटयान्स बढाउने कुरा त्यही ढंगले हुन्छ’ उनले भने।