अनुशासन र देशप्रेमको भावनाबाटै नयाँ पुस्ता सबल बन्छ :प्रधानसेनापति शर्मा

पोखरा। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अनुशासन र देशप्रेमको भावनाबाटै भावी पुस्ता सबल बन्नेमा जोड दिएका छन्।

सैनिक आवासीय महाविद्याल, पोखराको १९औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उनले भविष्यका कर्णधार विद्यार्थीलाई भविष्यको सोच, शिक्षाको महत्व, अनुशासन र देशप्रेमको भावना विकास गर्न सकेमा मात्रै भावी पुस्ता थप सबल बन्ने बताए।

शिक्षा पेशा आफैँमा गौरवपूर्ण र प्रतिष्ठित पेशा भएको बताउँदै उनले पछिल्ला समयमा यसलाई हेप्न थालिएको बताए। शिक्षाको महत्व विस्तारै बढ्दै गएको उल्लेख गर्दै प्रधानसेनापति शर्माले यस पेशालाई उदाहरणीय बनाउनुपर्नेमा जोड दिए।

महाविद्यालयमा व्यवस्थापनतर्फ बीबीएको कक्षा पनि सञ्चालन गर्न लागिएको बताउँदै उनले यसबाट लाभान्वित बन्न आग्रह गर्दै स्नातक तहमा विभिन्न कक्षा सञ्चालन गर्न यो सुरुआत भएको र भविष्यमा अन्य विषयमा पनि पठनपाठन सुरु गरिने जानकारी गराए।

घरपरिवारबाटै उचित शिक्षा, दिक्षा र संस्कारको विकास भई विद्यालय, महाविद्यालयमा अध्ययन गरेपश्चात् समाज र राष्ट्रको सेवा गर्ने व्यक्तित्वका रुपमा विकास गर्न सकिने धारणा प्रधानसेनापति शर्माले राखे।

सैनिक कल्याणकारी कोषमार्फत सेनाले शिक्षा, स्वास्थ्य, स्वरोजगार, पूर्वाधार निर्माणलगायत विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आएको बताउँदै उनले शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकतामा परेको बताए।

कोषकै सक्रियतामा देशका विभिन्न भागमा विद्यालय, महाविद्यालय, अस्पताल निर्माण भएको उनले बताए ।प्रधानसेनापति शर्माले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई प्रधान सेनापति प्रशंसा निशानबाट सुशोभन गरे।

विद्यालयका विद्यार्थीबाट नेपालका जातजातिका विभिन्न झाँकी, सांस्कृतिक कार्यक्रम, खुकुरी ड्रिल तथा तेक्वान्दो, कराँते प्रदर्शन गरिएको थियो। रासस