नेपाल सुपर लिगमा आज पोखरा र काठमाडौं खेल्दै

काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल० २०२३ अन्तर्गत आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

पोखरा र काठमाडौं दुवैको यो पाँचौ खेल हुनेछ । तर पोखरा यस सिजन अपराजित छ भने शीर्ष चारमा छ । चार खेलमा दुई जित र दुई बराबरीबाट ८ अंक जोडेको पोखरा तेस्रो स्थानमा छ । उता काठमाडौं भने चार खेलबाट ५ अंकसहित पाँचौ स्थानमा छ ।

काठमाडौं विरुद्ध जित हात पारे पोखरा शीर्ष स्थानमा पुग्नेछ र प्लेअफको सम्भावना पनि बलियो हुनेछ। पोखराका मुख्य प्रशिक्षक नविन न्यौपानेले लिग सुरु हुनुभन्दा अघिदेखि नै टिमको पहिलो लक्ष्य प्लेअफ पुग्ने भएको बताउँदै आएका छन्।

अहिले पोखरा त्यही बाटोमा अघि बढिरहेको छ। पछिल्लो खेलमा नविन न्यौपाने निलम्बनका कारण टचलाइनमा थिएनन् तर पोखराले स्पोर्टिङ इलामलाई हराएर ३ अंक जोडेको थियो। त्यही लय कायम राख्ने योजनामा पोखरा छ।

उता साविक विजेता काठमाडौंले भने यस सिजन सोचे अनुसारको प्रदर्शन गर्न सकेको छैन। चार खेल खेलिसक्दा काठमाडौंले जम्मा एक खेल जितेको छ भने दुई खेल बराबरी गरेको छ।

पछिल्लो खेलमा बुटवल लुम्बिनीसँग पराजित भएको काठमाडौं फेरि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ। बुटवलसँग पराजित भएपछि काठमाडौंका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले अब बाँकी रहेका चार खेलमा जित्न निकाल्दै प्लेअफ पुग्ने लक्ष्य रहेको बताएका थिए।